ad ad

राजनीति


चिनियाँ पत्रिकाको दाबीः नेपाल–चीन सम्बन्ध बिगार्न कांग्रेस नेताले हुम्लामा सीमा मिचिएको गलत हल्ला फैलाए

चिनियाँ पत्रिकाको दाबीः नेपाल–चीन सम्बन्ध बिगार्न कांग्रेस नेताले हुम्लामा सीमा मिचिएको गलत हल्ला फैलाए

नेपालखबर
कात्तिक २६, २०७७ बुधबार १५:६,

हालैका दिनमा केही ‘पश्चिमा रिपोर्ट’ मा हुम्लामा चीनले भूमि अतिक्रमण गरेको उल्लेख गरेर नेपाललाई चीनविरुद्ध उक्साउन खोजिएको भन्दै चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले खण्डन गरेको छ।

अज्ञात नेपाली राजनीतिज्ञको हवाला दिँदै चीनका सैनिकले हुम्लामा रहेको सीमा स्तम्भ उखेलेको र नेपाली भूमिमा भवन बनाएको भन्ने ‘आधारहीन’ समाचार दिइएको पत्रिकाले लेखेको छ।

यसरी गलत हल्ला फिँजाएर नेपाल–चीन सम्बन्ध बिगार्न पश्चिमा शक्ति, भारत र नेपालको एक राजनीतिक दल नेपाली कांग्रेस लागिरहेको आरोप ग्लोबल टाइम्सले लगाएको छ।

खासगरी यसको नेतृत्व ‘भारत पक्षधरको पहिचान बनाएको नेपाली कांग्रेसले गरिरहेको’ आरोप पत्रिकाले लगाएको छ।

‘हु इज बिहाइन्ड दी फ्याब्रिकेटेड रिपोर्टस प्रोभोकिङ नेपाल एग्‍नेस्ट चाइना?’ (नेपाललाई चीनविरुद्ध भड्काउने मनगढन्ते रिपोर्टको पछाडि को छ?) शीर्षकमा ग्लोबल टाइम्सले त्यस्तो आरोप लगाएको हो। 

एक जना नेपाली पत्रकारको भनाइ उधृत गर्दै उसले लेखेको छ, ‘कर्णाली प्रदेश, नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाहीले चीनविरोधी गतिविधिको नेतृत्व गरिरहेका छन्।’

नेपालमा पश्चिमा देशको गतिविधि बढ्दै गएकोप्रति नेपालकै बुद्धिजीवी सशंकित रहेको ग्लोबल टाइम्सले दाबी गरेको छ।

काठमाडौंका एक स्थानीयको भनाइ उधृत गर्दै नेपालमा धेरै विदेशी गैरसरकारी संस्था सक्रिय रहेको र तिनले नेपालमा अशान्ति फैलाउन खोजेको पत्रिकाको दाबी छ।

‘केही भारतीय टेलिभिजन च्यानलले नेपालको सम्प्रभुता एवं चीनसँगको सम्बन्धविरुद्ध समाचार दिइरहेका छन्’, समाचारमा भनिएको छ।

नेपालमा भारतीय र पश्चिमा शक्तिले आफ्नो प्रभाव जमाउने प्रयास गरिरहेको आरोप पनि ग्लोबल टाइम्सले लगाएको छ।

चीनले हुम्लामा नेपाली भूमि मिचेको खबर सार्वजनिक भएपछि नेपालस्थित चिनियाँ दूतावास र नेपाल सरकारले समेत यो कुरा गलत भएको बताइसकेका छन्।

तर कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले हुम्लामा सीमा मिचिएको दाबी गर्दै आएका छन्। हुम्ला निवासी शाही नेतृत्वको टोलीले सीमा क्षेत्रको अवलोकनसमेत गरी ‘चीनले सीमा मिचेको छ’ भन्दै प्रतिवेदन तयार गरेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .