राजनीति


जनगणना गर्न यूएनएफपीए र बेलायतले तथ्यांक विभागलाई दिए उपकरण

जनगणना गर्न यूएनएफपीए र बेलायतले तथ्यांक विभागलाई दिए उपकरण

नेपालखबर
कात्तिक २६, २०७७ बुधबार १०:१८,

नयाँ संविधान र संघीय संरचनाअन्तर्गतको पहिलो जनगणनाका रुपमा यही २०७८ जेठ–असारमा हुन गइरहेको १२औं राष्ट्रिय जनगणनाको पूर्वतयारीमा जुटेको केन्द्रीय तथ्यांक विभागलाई संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए)ले बुधबार सूचना प्रविधि उपकरण हस्तान्तरण गरेको छ।

‘कुल रु ७ करोड २० लाख (६ लाख ९ हजार ८७३ अमेरिकी डलर) बराबर मुल्यको सो सूचना प्रविधि उपकरणमा पावर ब्यांक र आवश्यक सहायक सामग्रीसहित २ हजार २५० वटा ट्याबलेट, ३५ ल्यापटप, ४७ वटा डेस्कटप कम्प्यूटर, पाँच वटा घुम्ती वर्क स्टेसन, एउटा सर्भर, हाइ रिजोल्यूसनका तीन वटा प्रिन्टर र आवश्यक सफ्टवेयर लाइसेन्स्हरु समावेश रेहेको छ, जसको खरिद यूएनएफपीएले बेलायत सरकार (यूकेएड)को अनुदानमा गरेको हो,’ तथ्यांक विभाग, यूएनएफपीए र यूकेएडद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसले विभागलाई उच्च प्रविधिजन्य मापदण्ड अनुरुपको गणना तथ्यांक उत्पादन गर्न सक्षम बनाउनेछ।’

केही खास गणना क्षेत्रमा ट्याबलेटको प्रयोगसहित राष्ट्रिय जनगणना २०७८ मा नवीन प्रविधिको उपयोगले केन्द्रीय तथ्यांक विभागबाट सबैभन्दा तल्लो प्रशासनिक इकाइका आधारमा खण्डिकृत हुनेगरी देशमा बसोबास गर्नेको सङ्ख्या कति छ र उनीहरुको स्वास्थ्य, कल्याण, समस्या तथा सम्भावनाहरु, र आर्थिक तथा सामाजिक अवस्थालगायत उनीहरु के–कस्तो अवस्थामा बस्दै आएका छन् भन्ने बारेमा विस्तृत विवरण सङ्कलन हुने कुरा सुनिश्चित गर्ने जनाइएको छ।

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क देशभरीको अवस्था बुझ्न, विकासका आवश्यकता, र विद्यालयदेखि स्वास्थ्य सेवा र सडकसम्म कहाँ र कसरी लगानी गर्ने भन्नेबारेमा निर्णय लिन नीति निर्माता र योजनाकारहरुलाई बहुमुल्य हुने उनीहरुले जनाएका छन्।

जनगणनालाई अन्तर्राष्ट्रिय मापदण्डअनुरुप आयोजना गर्न र संकलन भएको तथ्याङ्क पछाडि पर्नसक्ने जोखिममा रहेका व्यक्तिहरुको जीवनमा सुधार ल्याउन र उनीहरुको अधिकार सुनिश्चित गर्न उपयोग गरिने कुरा सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको समेत विभागको भनाइ छ।

Census UNFPA UKsupport 2

‘सरकारको मार्गनिर्देशन अनुरुप हाम्रा कर्मचारी र उत्तरदाताहरुको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्दै सबैभन्दा तल्लो प्रशासनिक तहमा रहेको तथ्याङ्क अभावलाई सम्बोधन गर्ने गरी गणना गर्न हामी प्रतिबद्ध छौं,’ केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए।

राष्ट्रिय जनगणना २०७८ राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा रहेको राष्ट्रिय जनगणना सञ्चालक समितिको मार्गनिर्देशनमा विभागको नेतृत्वमा भइरहेको छ।

सो सूचना प्रविधि उपकरणले विभागको पूर्वाधार र क्षमतालाई सुदृढ तुल्याउँदै तथ्यांक संकलनको बहुविधि अवधारणामार्फत जनगणना कार्यसञ्चालनलाई आधुनिकीकरण गर्ने विभागको प्रयासलाई बल पुर्‍याउने काम गर्ने विश्वास लिइएको छ।

‘गणना तथ्यांक पूर्वाधारको मूलभूत पक्ष हो, यसले देशको सङ्ख्यात्मक विवरण प्रदान गर्ने भएकाले जनता र सरकार दुवैका लागि यो बहुमुल्य हुन्छ। गणना उच्चगुणस्तरको भएको, अन्तर्राष्ट्रिय मापदण्डलाई स्थापित गरेको र विकासका प्रतिफलहरुका लागि व्यापक रुपमा प्रचारप्रसार तथा उपयोग गरिने तथ्यांक उत्पादन भएको सुनिश्चित गर्न नेपाल सरकारलाई प्राविधिक तथा आर्थिक सहायता प्रदान गर्न पाउँदा यूएनएफपीए गौरवान्वित भएको छ,’ नेपालका लागि यूएनएफपीए प्रतिनिधि लुब्ना बाकीले बताएकी छन्।

‘जनगणना तथ्याङ्क संकलन तथा संग्रह गर्ने सबैभन्दा महत्वपूर्ण अवसर हो जसको आधारमा सरकारदेखि विकास साझेदार र समुदायमा आधारित संघसंस्था सबैले आफ्नो सहयोगलाई सही ढंगबाट निर्देशित गर्नसक्छन्। त्यसबाट महिला, पुरुष, बालबालिका, गरिब, जोखिममा रहेका र अन्य समूहहरुलाई प्रदान गरिने सेवाहरुमा सुधार ल्याउन मद्दत पुग्नेछ,’ काठमाडौंस्थित बेलायती दुतावासकी विकास निर्देशक लिसा होनानले भनिन्, ‘हाम्रा साझेदार यूएनएफपीए र केन्द्रीय तथ्याङ्क विभागमार्फत यसरी उपकरण तथा प्रविधि उपलब्ध गराउन संयुक्त अधिराज्य सक्षम भएकोमा म खुशी छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad