चुनावमा हारेका कारण रिपब्लिकन नेता ट्रम्पले राष्ट्रपतिको रुपमा दोस्रो कार्यकाल सम्हाल्ने अवसर गुमाएका छन्। चुनावमा पराजय व्यहोरेसँगै अब आगामी दिनमा उनले अझ ठूलो चुनौतीको सामना गर्नुपर्ने अवस्था सिर्जना हुनसक्छ।
विशेषज्ञहरुका अनुसार ट्रम्पको कार्यकालमा भएका कथित घोटालाहरुको अनुसन्धानबाट उनले राष्ट्रपति पदबाट हट्नासाथ आपराधिक कारवाहीका साथै कठिन वित्तीय स्थितीको सामना गर्नुपर्ने स्थिती आउनसक्ने देखिएको छ।
राष्ट्रपतिको पदमा रहिरहँदा भने उनीविरुद्ध आपराधिक मुद्दा चलाउन नसकिने जनाइएको छ।
अभियोग र व्यापार चुनौतिहरु
पेस विश्वविद्यालयमा संवैधानिक कानुनका प्राध्यापक बेनेट गर्समेन भन्छन्,‘‘डोनाल्ड ट्रम्पविरुद्ध आपराधिक अभियोगमा मुद्दा चलाउने सम्भावना छ।’
बेनेट गर्समेनले न्युयोर्कमा एक दशकसम्म अभियोक्ताको रुपमा सेवा दिएका थिए।
‘राष्ट्रपति ट्रम्पमाथि बैंकिङ कसुर, कर छली, कालो धनलाई वैध बनाएको, चुनावलाई प्रभावित गरेकोजस्ता आरोप लाग्न सक्छन्। उनका कामसँग जोडिएका जति पनि जानकारी मिडियामा आएका छन्, ती सबै वित्तीय मामिलाका छन्’ उनले भने।
अमेरिकी संचारमाध्यममा प्रकाशित खबरअनुसार निजी ऋण र कारोबारमा निम्तिएको समस्याका कारण डोनाल्ड ट्रम्पले ठूलो वित्तीय संकट कोपनि सामना गर्नुपर्ने हुनसक्छ।
न्यूयोर्क टाइम्सकाअनुसार निजी लगानीको अवस्था कमजोर भएको अवस्थामा ट्रम्पले आगामी चार वर्षमा ३० करोड डलरभन्दा बढी ऋण चुक्ता गर्नुपर्ने अवस्था छ।
राष्ट्रपति नहुँदा ऋण भुक्तानीका लागि ट्रम्पमाथि ताकेता पनि बढ्न सक्छ। ट्रम्पका आलोचकहरुका अनुसार राष्ट्रपति पद उनको कानुनी तथा वित्तीय समस्याका लागि कवच बनेको थियो। राष्ट्रपति पद नै नरहेपछि अब ट्रम्पका लागि संकटको दिन सुरु हुनसक्ने उनीहरुको बुझाइ छ।
आरोपहरु अस्वीकार
ट्रम्पको दाबी यो छ कि उनी आफ्ना दुश्मनहरुको षड्यन्त्रको शिकार भएका छन्।
राष्ट्रपति बन्नु अघि र राष्ट्रपति भइसकेपछि पनि अपराध गरेको भनेर उनीहरुले आफूमाथि झुटो आरोप लगाएको ट्रम्पको भनाइ छ। उनले आफूविरुद्ध लगाइएका सबै आरोपलाई अस्वीकार गरेका छन्।
आफ्नो प्रशासनमाथि लगाइएको घोटालाको आरोप र महाअभियोगको विषयमा न्याय विभागले गरेको अनुसन्धानमा आफू निर्दोष सावित भएको उनको भनाइ छ।
न्याय विभागले बारम्बार राष्ट्रपति पदमा रहँदासम्म ट्रम्पमाथि अपराधिक मुद्दा दर्ता गर्न नसकिने बताउँदै आएको थियो। त्यसकारण विश्लेषकहरु ती सबै जाँच र प्रक्रियाहरु राष्ट्रपतिलाई प्राप्त सुरक्षा सुविधाबाट निर्देशित रहेको बताउँछन्।
त्यसैले अब ट्रम्प राष्ट्रपति नभएको समयमा ती जाँच प्रक्रियालाई चुनौती दिएर ट्रम्पविरुद्ध कानुनी कारवाहीको आधार बनाउन सकिने विश्लेषकहरुको भनाइ छ।
प्राध्यापक बेनेट गर्समेन भन्छन्, ‘हामीलाई पहिलादेखि नै थाहा छ, ट्रम्पविरुद्ध मतदातालाई धोका दिएको आरोप लगाउन सकिन्छ किनकि मेनह्याटनका लागि अमेरिकी न्यायाधिवक्ताले ट्रम्पलाई माइकल कोहेनसँग षड्यन्त्रमा सामेल रहेको बताइसकेका छन्।’
विशेषज्ञहरु ट्रम्पका पूर्व वकिल माइकल कोहेनविरुद्ध भएको जाँचको पनि स्मरण गराउँछन्। सन् २०१८ मा कोहेनलाई चुनावी धाँधलीमा दोषी पाइएको थियो। उनीमाथि डोनाल्ड ट्रम्पसँग अफेयर रहेको दाबी गर्ने पोर्न एक्ट्रेस स्टोर्मी ड्यानियल्सलाई सन् २०१६ को चुनावमा पैसा दिएको आरोप लागेको थियो।
माइकल कोहेनका बारेमा गरिएको जाँचमा आधिकारिक रुपमा भनिएको थियो कि राष्ट्रपति पदका एक उम्मेदवार आपराधिक गतिविधिमा संलग्न थिए। अमेरिकी मिडियाले भने ती उम्मेदवार डोनाल्ड ट्रम्प रहेको उल्लेख गरेका थिए।
मूलर प्रतिवेदन
बेनेट गमर्सनका अनुसार ट्रम्पमाथि कथित मूलर रिपोर्टको नतिजालाई ध्यानमा राखेर न्यायमा बाधा सिर्जना गरेको आरोप पनि लाग्न सक्छ।
सन् २०१९ मा स्पेसल काउन्सिल रोबर्ट मूलरले सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा रुसको हस्तक्षेपबारे अनुसन्धान रिपोर्ट बुझाएका थिए। उक्त रिपोर्टमा ट्रम्पलाई सफाइ दिइएको थियो। अनुसन्धानमा ट्रम्पको प्रचार टोली र रुसबीच कुनै प्रकारको साँठगाँठको प्रमाण नभेटिएको जनाइएको थियो।
तर रिपोर्टमा ट्रम्पले अनुसन्धानमा बाधा सिर्जना गर्ने प्रयास गरेको उल्लेख भने गरिएको छ। त्यसपछि ट्रम्पले मूलरलाई पदबाट हटाउने प्रयाससमेत गरेका थिए।
त्यसबेला मूलरले न्यायमा बाधा सिर्जना गर्न खोजेकोमा डोनाल्ड ट्रम्पमाथि महाभियोग लगाउने वा नलगाउने भन्नेबारे अमेरिकी संसदले निर्णय गर्नुपर्छ भनेका थिए। बीबीसीहिन्दी

प्रतिक्रिया