सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्य सचिवालय बैठकको माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।
अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचिवालयको बैठक बोलाउन माग गरिएको लिखित पत्रसहित कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु शनिबार बिहान ११.१५ बजे बालुवाटार पुगेका हुन्।
बालुवाटार जाने अन्य सचिवालय सदस्यहरुमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ रहेका छन्।
शुक्रबार कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालयको बैठक बोलाएका थिए। त्यसमा प्रधानमन्त्री ओली र उनी पक्षीय नेताहरु सहभागी भएका थिएनन्। शुक्रबारको अनौपचारिक बैठकले पार्टीको सचिवालय बैठक तत्काल बोलाउन अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग सामूहिक माग गर्ने निर्णय गरेको थियो।
सोही अनुरुप प्रधानमन्त्रीसँग बिहान ९ बजेका लागि भेट तय भएको थियो। तर, प्रधानमन्त्री ओलीले भेटको समय एक घण्टा पछाडि सारेपछि ५ नेताहरु पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेर अनौपचारिक छलफल गरेको स्रोतले बतायो।
सोही अनौपचारिक छलफलमा बैठक बोलाउन माग गरेको पत्रसमेत तयार गरेको स्रोतले बतायो।
सोही समयमा यता प्रधानमन्त्री ओली भने बालुवाटारमा सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र रामबहादुर थापासँग छलफलमा थिए।
याे पनि : अनौपचारिक सचिवालय बैठक राखेर प्रचण्डले दिन चाहेका थिए यी दुई सन्देश

प्रतिक्रिया