अमेरिकामा अहिले राष्ट्रपति चुनावको मत गणना जारी छ।
रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र उनका प्रतिस्पर्धी डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन दुवैले आफूले जित्ने दाबी गरिरहेका छन्।
तर अहिलेसम्मको नतिजाअनुसार बाइडेन अगाडि छन्। निर्वाचनको अन्तिम परिणाम आउनै बाँकी छ। दुवै पक्ष कानुनी लडाइँमा सहभागी हुने तयारीमा छन्।
इलेक्टोरल कलेज (मत) को संख्याका हिसाबले महत्वपूर्ण मानिने अझै धेरै राज्यमा मत गणना जारी छ। जुन मतमा अन्तिम नतिजा निर्भर रहनेछ।
बीबीसीका अनुसार मिसिगन र विस्कन्सिन राज्यमा ट्रम्पभन्दा बाइडेन अगाडि छन्। पेन्सलभेनिया राज्यको नतिजा अझै आइसकेको छैन। विस्कान्सिन, मिसिगन र पेन्सिलभेनिया राज्यका मतले बाइडेनको जित सुनिश्चित गर्न सक्छ।
नेभाडा, विस्कन्सिन, जर्जिया, पेन्सिलभेनिया र मिसिगनमा पुनः मत गणना गर्नुपर्ने माग ट्रम्प पक्षले गरेको छ। ती राज्यमा धाँधली भएको ट्रम्पको आरोप छ।
याे पनि : ट्रम्पले लेखे : चुनावमा धाँधली भएका पर्याप्त प्रमाण छन्, हामी जित्नेछौं
नेभाडा र एरिजोना राज्यमा अहिलेसम्म बाइडेन नै अगाडि छन्। यस्तै जर्जियामा मत गणना जारी छ र यहाँ दुई उम्मेदवारबीच मतको अन्तर कम हुँदै गइरहेको छ।
डेमोक्रेट उम्मेदवार बाइडेनले नागरिकलाई धैर्य राख्न र नतिजाको प्रतीक्षा गर्न अपिल गरेका छन्। उनले गणतान्त्रिक प्रक्रियाको सम्मान गर्न पनि आग्रह गरेका छन्।
उनले भने, ‘मतदान एउटा पवित्र कामजत्तिकै हो। जसका माध्यमद्वारा मतदाताले आफ्नो अभिमत व्यक्त गर्छन्। मतदाताले नै राष्ट्रपति चुन्छन्। यो काम अरू कसैले गर्न सक्दैन। यसकारण हरेक मतको गन्ती गर्न आवश्यक छ।’
उनले अगाडि भने, ‘मलाई र सांसद कमला ह्यारिसलाई पूर्ण विश्वास छ कि जब मत गनिसकिन्छ त हामी विजयी घोषित हुनेछौं। म आम नागरिकलाई यो अपिल गर्न चाहन्छु कि चुनावी प्रक्रिया पूरा हुन दिनुस्। मत गणना जारी छ।’
उता रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प भने पेन्सिलभेनियामा मत गणनामा धाँधली भएको आरोप लगाउँदै अदालतको ढोका ढकढक्याउन पुगेका छन्।
उनी पक्षका अधिकारीले मत गणना भइरहेको फिलाडेल्फियामा आफ्ना प्रतिनिधिलाई जान नदिइएको आरोप लगाएका छन्।
फिलाडेल्फियाका संघीय न्यायाधीशले बिहीबार राति यस मुद्दाको आपतकालीन सुनुवाइका लागि समय छुट्याएका छन्।
बजफिडका रिपोर्टर जो टिलम्यानले उक्त आवेदनको प्रतिलिपि सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन्। जसमा तुरुन्त मत गणना रोक्न माग गरिएको छ।
New: The Trump campaign has filed a lawsuit in PA federal court claiming GOP reps/poll watchers are being denied access to observe while ballot counting is taking place in Philadelphia (no other details in the complaint) https://t.co/lRli0JVOud pic.twitter.com/jbX8wM7ahs
— Zoe Tillman (@ZoeTillman) November 5, 2020

प्रतिक्रिया