राजनीति


कोरोना संक्रमणका कारण पूर्वसभामुख महराकी पत्नी सीताको निधन

कोरोना संक्रमणका कारण पूर्वसभामुख महराकी पत्नी सीताको निधन

नेपालखबर
कात्तिक १९, २०७७ बुधबार २:२१,

कोरोना संक्रमणका कारण पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ।

काठमाडौंको थापाथलीस्थित नर्भिक हस्पिटलमा उपचाररत ५९ वर्षीया उनको आज (बुधबार) बिहान निधन भएको हो।

पुर्ख्याैली घर रोल्पाकाे मेबाङ गएका बेला स्वास्थ्यमा समस्या देखिएपछि प्रतिनिधि सभा सदस्य महराकी जीवनसंगिनी सीतालाई यही कात्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो।

तर त्यहाँ उपचार हुन नसकेपछि उनलाई कात्तिक १४ गते हेलिकोप्टरमार्फत नर्भिक हस्पिटल ल्याइएकाे थियाे।

पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएकी उनलाई  कात्तिक १५ गतेदेखि भेन्टिलेटरमा राखिएकाे थियाे।तर उपचारकै क्रममा आज बिहान ६:२५ बजे उनकाे निधन भएको अस्पतालले पुष्टि गरेको छ।

सीता महराको संक्षिप्त परिचय
बुबा मुक्तबहादुर थापा र आमा खिर्मादेवी थापाका पहिलो सन्तानका रुपमा सीता महरा रोल्पाको गजुल धौलेगाउँमा २०१८ साउन १३ गते शुक्रबार जन्मिएकी थिइन्। नेकपा नेता कृष्णबहादुर महरासँग २०३५ सालमा उनको विवाह भएको थियो।

महरा भूमिगत भएपछि सीता महराले पिन तत्कालीन राज्यबाट धेरैपटक शारिरीक/मानसिक यातना भाेग्नाका साथै केही दिन हिरासतमासमेत बस्नुपरेकाे थियाे।

२०५४ साउन २९ गते राति रोल्पा मेबाङस्थित घरमै आएर नाबालक छोराछोरीलाई घरमा थुनेर गिरफ्तार गर्न थालेपछि उनी प्रहरीको घेरा ताेडेर भाग्न सफल भएकी थिइन्। 

घरभित्र थुनिएका छोराछोरी पनि घरपछाडिको ढोकाबाट भाग्न सफल भएका थिए। त्यही दिनदेखि घर छोडेकाे महराकाे परिवारै पूर्णकालीन रुपमा जनयुद्धमा सहभागी भएकाे थियाे।

सामान्य लेखपढ मात्रै गर्न जानेकी सीता महरा तत्कालीन माओवादीको ठूलो जिम्मेवारीमा नरहे पनि उनले पति कृष्णबहादुर महरालाई पारिवारिक/राजनीतिक सहयाेग पुर्‍याएकी थिइन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad