संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड–१९ नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम प्रशारण गर्न संचार माध्यामहरुलाई आग्रह गरेका छन्।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रणका लागि जनतालाई सही सूचना दिन सरकारी संचार माध्यमहरुले विशेष भूमिका निर्वाह गर्नुपर्ने पनि स्पष्ट पारे।
मंगलबार सरकारी संंचार माध्याम नेपाल टेलिभिजन, रेडियो नेपाल र राष्ट्रिय समाचार समितिको काठमाडौंस्थित केन्द्रीय कार्यालयको छुट्टाछुट्टै अनुमगन गर्ने क्रममा उनले सरकारले गरेका राम्रा काम जनताको माझ लैजाने दायित्व संचार माध्यामहरुको भएको उल्लेख गर्दै त्यसमा नचुक्न पनि सचेत गराए ।
‘जनतालाई सही सूचना दिने दायित्व संचार माध्यमको हो,’ मन्त्री गुरुङले भने, ‘त्यसका लागि सरकारी संचार माध्यामले विशेष भूमिका निर्वाह गर्नुपर्छ।’
संचारमन्त्री गुरुङले नेपाल टेलिभिजन, रेडियो नेपाल, राष्ट्रिय समाचार समिति, गोर्खापत्र संस्थानजस्ता सरकारी संचार माध्यमलाई प्रभावकारी बनाउन एकीकृत ढंगले संचालन गर्ने योजना पनि अघि सारे। त्यसका लागि विज्ञहरुसँग आवश्यक छलफल गरी नीति ल्याउने मन्त्री गुरुङको भनाई छ।
मन्त्री गुरुङले राष्ट्रिय हितलाई सर्वोपरी ठानेर समाचार सम्पे्रषण गर्न पनि संचार माध्यामहरुलाई आह्वान गरे। उनले सरकारी संचार माध्याम विगतमा राजनीतिक आस्थाको गोटी बनेकाले त्यसको स्थायित्व र विकासमा समस्या देखिएको उल्लेख गर्दै अब त्यसो हुन नदिने प्रतिवद्धता व्यक्त गरे।
संचार मन्त्रालय सम्हालेका मन्त्री गुरुङले पहिलो पटक नेपाल टेलिभिजन, रेडियो नेपाल र राष्ट्रिय समाचार समितिको छुट्टाछुट्टै अनुगमन गरेका हुन्।
त्यस क्रममा उनलाई नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्ट, रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी र राष्ट्रिय समाचार समितिका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले आ–आफनो कार्यालयमा स्वागत गरेका थिए।

प्रतिक्रिया