महिनौंदेखि बल्झिरहेको सत्तारुढ दल नेकपाभित्रको विवाद समाधान गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले सक्रियता देखाएकी छन्।
राष्ट्रपति भण्डारीले त्यसकै लागि बुधबार साँझ नेकपा उपाध्यक्ष बामदेव गौतमलाई शितल निवासमा बोलाएर छलफल गरेकी छन्।
भेटमा राष्ट्रपति भण्डारीले पार्टी एकताका जोगाउन भूमिका खेल्न आग्रह गरेकी थिइन्।
‘राष्ट्रपति भण्डारीले बोलाएपछि उहाँलाई भेट्न गौतम जानुभएको थियो। भेटमा राष्ट्रपतिले विगतमा पनि उपाध्यक्ष गौतमले पार्टीलाई विभाजनबाट जोगाउन भूमिका खेलेको स्मरण गर्दै फेरि पनि नेता गौतमबाट त्यस्तै भूमिका खेल्न आग्रह गर्नुभयो,’ गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले भने।
सुवेदीका अनुसार भेटमा गौतमले पार्टी विभाजन नहुने र पार्टी विधि तथा प्रक्रियाबाट सञ्चालन गरेर ठीकसँग अघि बढ्ने भनी राष्ट्रपति भण्डारीलाई आश्वस्त पारेका थिए।
राष्ट्रपतिले नेकपाका शीर्ष नेताहरुबीच विवादले जटिल मोड लिएका बेला समाधान गर्न सक्रियता देखाउँदै आएकी छन्।
त्यसैले गर्दा पार्टीका आन्तरिक किचलोमा संवैधानिक राष्ट्रप्रमुखले चासो तथा सक्रियता देखाएको भन्दै भण्डारीलाई समेत बेलाबेला विवादमा तान्ने गरिएको छ।
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली तथा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच केहि दिनयता तिक्तता बढ्दै गएपछि देखिएको राष्ट्रपतिको सक्रियतालाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रतिक्रिया