नेपाली गीतमा नृत्य र फोटो सेसन गरी नेपाल प्रवद्र्धन समेत गर्दै आएकी चिनियाँ राजदूत होउ यान्छीले दसैंको अवसरमा रेसम फिरिरि गीत गाएकी छन्।
दसैं टीकाको दिन राजदूत होउले काठमाडौंस्थित चिनियाँ दूतावास प्रागंणमा रेकर्ड गरिएको रेशम फिरिरि गीत सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी हुन्।
‘मेरा सहकर्मीहरू र मैले नेपाली गीत रेशम फिरिरि अभ्यास गर्यौं र अन्तमा हामी गाउन सफल भएका छौं। यसले सबैलाई शौभाग्य र खुशी ल्याओस’, राजदूत होउले ट्वीटरमा भिडियो पोष्ट गर्दै भनेकी छन्, ‘सबैलाई बडा दसैंको शुभकामना।’
दुई मिनेट १८ सेकेण्डको भिडियोमा नेपालका हिमाल, संस्कृति लगायत पर्यटन गन्तव्यहरू देखाइएको छ।
राजदूत भएर काडमाडौं आएदेखि नै चर्चामा रहेकी होउले नेपाली महिलाहरूसँग नेपाली गीतमा नृत्य गर्ने, पर्यटन गन्तव्यमा गएर मोडलले झैं फोटो सेसन गर्दै नेपाल प्रवद्र्धन गर्ने गर्दै आएकी छन्।
राजदुत होउ अहिलेसम्म नेपाल आएका चिनियाँ राजदूतमध्ये संभवतः सबैभन्दा सक्रिय राजदूत हुन्।

काठमाडौं आउनुअघि बेइजिङस्थित चीनको विदेश मन्त्रालयको एशिया प्यासेफिक विभागको उपनिर्देशक रहेकी होउ नेपालमा राजनीतिक रुपमा पनि सक्रिय भएको आरोप लाग्दै आएको छ।
खासगरी सत्तारुढ नेकपाको विवाद उत्कर्षमा पुगेका बेला राजदूत होउले प्रमुख नेताहरूसँग गर्ने भेटघाटले बढी चर्चा पाउने गरेको छ।

प्रतिक्रिया