राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहका पछिल्ला गतिविधिबारे गम्भीर छलफल भएको छ।
कोरोना संक्रमणले देश अप्ठेरोमा परेसँगै विप्लव समूहका गतिविधि बढ्दै गएकोबारे सुरक्षा परिषद बैठकमा छलफल भएको सहभागी एक मन्त्रीले जानकारी दिए।
‘कोरोना संक्रमणको जोखिसँगै सुरक्षाका नयाँ चुनौती देखिएकोबारे गम्भीर छलफल भएको छ। सुरक्षा निकायलाई पनि त्यहीअनुसार योजना बनाउन र परिचालन गर्न भनिएको छ’, बुधबार बसेको सो बैठकमा सहभागी एक मन्त्रीले भने, ‘विप्लव समूहले पनि गतिविधि बढाएको रिपोर्टिङ छ।’
यस्तै जनताको असन्तुष्टि बढ्दै गएको र यसले नयाँ समस्या जन्माउन सक्नेबारे पनि सुरक्षा निकायको रिपोर्टमा भनिएको छ।
भारतीय सेनाअध्यक्षको नेपाल भ्रमण, भारतसँग देखिएको पछिल्लो तनाव र चाडवाडलक्षित सुरक्षा योजनाबारे पनि सो बैठकमा छलफल भएको छ।
आगामी कात्तिक १८ गते भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवाणेको नेपाल भ्रमण तय भएको छ।
भारतले अतिक्रमण गरेको कालापानीसहितको आफ्नो भूमि समेटेर नेपालले नक्सा जारी गरेका बेला नेपालबार दिएको अभिव्यक्तिका कारण विवादित बनेका नरवाणेले नेपाल भ्रमण यहि कात्तिकमा गर्दैछन्। त्यसक्रममा उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जानी प्रदान गरिँदैछ।
सेनापतिको भ्रमणको पूर्व सन्ध्यामा भारतीय गुप्तचर संस्था रअ का प्रमुख सामन्तकुमार गोयलले भ्रमण गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्च तहको भेटवार्ता गरेर उनी बिहीबार नै स्वदेश फर्किएका छन्।
यसैबीच यता विप्लव समूहले भने सरकारविरुद्ध आन्दोलन घोषणा गरेको छ। कोरोना संक्रमण सुरु भएसँगै विप्लवले आफ्ना गतिविधि स्थगित गरेको जनाएको थियो।
विप्लवले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारविरुद्ध पाँच दिने संघर्षका कार्यक्रम घोषणा गरेको जनाएको छ।
विप्लव समूहले यही कात्तिक १५ गतेदेखि २० गतेसम्म संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ।
त्यस विषयमा समेत सुरक्षा परिषद्को बैठकमा छलफल भएको र त्यहीअनुसार सुरक्षा योजना बनाउनेबारे छलफल भएको छ।
सरकारले विप्लव समूहका गतिबिधि अपराधिक तथा ध्वंसात्मक भन्दै २०७५ फागुनमा सो समूहका गतिबिधिमा प्रतिबन्ध लगाएको थियो।
त्यसयता सुरक्षा निकायले विप्लव समूहका बिभिन्न नेताहरुलाई पक्राउ गर्ने गरेका छन्।
Shares

प्रतिक्रिया