काठमाडौंस्थित गुह्येश्वरी मन्दिरकाे १७३.५ तोला सुन हराएकाे छ।
पशुपति क्षेत्र विकास कोषले गुह्येश्वरी मन्दिर गर्भगृह मर्मत/सम्भार गर्ने क्रममा अष्टदल र भैरवको मूर्तिमा रहेको करिब २ किलो सुन गायब भएकाे पत्ता लागेकाे हाे।
अष्टदलको मूर्तिमा साविकमा ३७९ तोला सुन थियो। मर्मत सम्भार गर्ने क्रममा निकालेर जोख्दा २९४ तोला मात्र भेटिएको कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले जानकारी दिए।
अष्टदलमा ८५ तोला सुन अनियमितता भएको पाइएकाे छ। यसैगरी भैरवको मूर्तिमा साविकमा ३३४ तोला सुन भएकामा मर्मत/सम्भारका क्रममा निकालेर जोख्दा २४५.५ तोला मात्र पाइएको छ। भैरवको मूर्तिबाट ८८.५ तोला सुन गायब भएको छ।
‘साविकको सुन गायब भएपछि २ करोड ११ लाख रुपैयाँ खर्च गरी कोषले सुन थपेर अष्टदल र भैरवको मूर्ति पुनःनिर्माण गरेको छ, सुनका दुवै संरचना विसं २०५७ मा निर्माण भएको हो, १८/१८ वर्षमा सवा दुई करोडको सुन अनियमितता भयो भने यो रकम कसले बेहोर्ने,’ उनले भने।
गुह्येश्वरी मन्दिर कोष मातहत नै भएपनि यहाँको व्यवस्थापन गुठी संस्थानले गठन गरेको समितिले गर्दै आएको छ। द्वैध स्वामित्वका कारण मन्दिरमा बेलाबेलामा विवाद आउने गरेको छ।
व्यवस्थापन समितिका अध्यक्ष सुमित खड्गी गुह्येश्वरी मन्दिरमा अण्डा, जाँड, रक्सीजस्ता तामसी चिज पनि चढाइने भएकाले सुन खिइएर गएको दाबी गर्छन्।
कोषले व्यवस्थापन समिति र पुजारीलाई समेत विसं २०७५ भदौ ६ गते नै सुन गायब भएको विषयमा सत्य तथ्य खुलाउन भनी पत्राचार गरेको थियो। समिति र पुजारीबाट चित्तबुझ्दो जवाफ नआएपछि छानबिन समिति बनाएर यस सम्बन्धमा गहिरिएर अध्ययन गर्न लागिएको कोषाध्यक्ष थापाले बताए।
सुनको खिइएर बनेको टुक्रासमेत नदेखाइएकाले छानबिन गर्न लागिएको हो। अण्डा, जाँड, रक्सीले सुन खिइएको भए प्वाल परेको, खिया लागेको हुनुपर्नेमा त्यस्तो नपाइएकाे कोषले जनाएको छ।
छानबिन समितिमा संस्कृति, पर्यटन नागरिक उड्डयन मन्त्रालय, संस्थानलगायत सरोकार भएका निकायका प्रतिनिधिसमेत राख्ने गृहकार्य भइरहेको छ।
यस क्रममा १८ वर्षका अवधिमा दुई किलो सुन अण्डा, जाँड, रक्सीले खिइन्छ कि खिइन्न भनी प्रयोगशालामा परीक्षणसमेत गरिने भएको बुझिएको छ।
अष्टदल एवं भैरवको मूर्तिमा समितिका पदाधिकारी र पुजारीको नाम राख्न कोषलाई दबाब दिइएको थियो। नाम नराखिएपछि समितिले अष्टदल स्थापना गर्ने साइत निस्केन भन्ने निहुँमा राख्न दिएको छैन।
मर्मतसम्भार गरिएको अष्टदल र भैरवको मूर्ति घटस्थापनाका दिन गर्भगृहमा स्थापना गर्ने कोषको तयारी थियो। समितिले अहिले साइत निस्किएन एक महिनापछि मात्र राख्नुपर्छ भनी पन्छाएको छ।
गुह्येश्वरीका सत्तलसमेत कोषले नै पुनःनिर्माण गरेको हो। रु २० करोडको लागतमा मन्दिर, सत्तललगायत ऐतिहासिक एवं धार्मिक महत्वका संरचना पुनःनिर्माण गरिएको हो।
पुनःनिर्मित सत्तल समितिले अनधिकृत रुपमा उपयोग गर्दै आएको छ। समितिका पदाधिकारीले आफन्तलाई यहाँ बाससमेत दिएको कोषको भनाइ छ।
गुह्येश्वरी मन्दिरको गर्भगृहमा रहेको अष्टदलमा कोषले ७५ किलो चाँदीको घेरा थप गरेको छ।
मन्दिरमा मर्मतसम्भार एवं पुनःनिर्माण कोषले गर्ने तर त्यसको दुरुपयोग समिति र पुजारीका तर्फबाट भएकाले गुह्येश्वरीको समग्र विषय छानबिन गर्ने कोषको तयारी छ।
गुह्येश्वरीका नाममा रहेको अन्य सम्पत्तिसमेत छानबिनका दायरामा आउने भएको छ। रासस
Shares

प्रतिक्रिया