ad ad

राजनीति


प्रधानमन्त्रीलाई साझा पार्टीको प्रश्न : के गोयललाई मोदीले ‘विशेष दूत’का रुपमा पठाएका हुन्?

प्रधानमन्त्रीलाई साझा पार्टीको प्रश्न : के गोयललाई मोदीले ‘विशेष दूत’का रुपमा पठाएका हुन्?

नेपालखबर
कात्तिक ६, २०७७ बिहिबार १०:३२,

 साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेटवार्ताप्रति आफ्नाो ध्यानाकर्षण भएको जनाएको छ।

 बिहीबार साझाले एक विज्ञप्ति प्रकाशित गर्दै गोयललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ‘विशेष दूत’का रुपमा पठाए नपठाएको बारे प्रस्ट पार्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ। विशेष दूतका रुपमा नआएको भए भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको संकेत गर्ने बताएको छ।

‘के रअ प्रमुख गोयललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ‘विशेष दूत’का रूपमा नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाएका हुन्? यदि हुन् भने प्रधानमन्त्री ओलीको कार्यालयले तुरुन्त स्पष्ट पारोस्’, प्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘होइन भने, आफ्ना खुफिया एजेन्सी प्रमुखलाई विशेष विमानबाट नेपाल पठाएर प्रधानमन्त्रीसँग भेटाउनुबाट भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको संकेत गर्दछ।’

साझाले प्रधानमन्त्रीकै तहबाट नेपालको कूटनीतिक सम्मान र राष्ट्रिय स्वाभिमानमाथि भएको ठाडो आक्रमण भएको बताएको छ।

साझाले गोयल नेपालको समकक्षी गुप्तचर निकायको निमन्त्रणामा आए नआएकोबारे समेत प्रस्ट पार्न माग गरेको छ।

‘के रअका प्रमुख उनको नेपाली समकक्षी नेपालको गुप्तचर निकायका प्रमुखको निमन्त्रणामा आएका हुन्? के त्यसरी आउँदा उनले प्रधानमन्त्रीसँग ‘शिष्टाचार भेट’ गरेका हुन्? यदि हुन् भने त्यो पनि प्रधानमन्त्री ओलीको कार्यालयले तुरुन्त स्पष्ट पारोस्। होइन भने, देशको प्रधानमन्त्रीको मर्यादाको ख्याल भयो कि भएन?’, विज्ञप्तिमा भनिएको छ।

साझाले परराष्ट्र मन्त्रालयले औपचारिक वार्ताका लागि गरेको पत्राचारको जवाफ दिल्लीले नदिनु र अर्कोतिर खुफिया एजेन्सीका प्रमुख आएर सिधैँ प्रधानमन्त्रीलाई भेट्नुले नेपाली कुटनीति भारतसँगको सम्वन्धमा कुन तहमा गिरेको छ भन्नेमात्र स्पष्ट नपार्ने भन्दै त्यसले अन्य देशहरूसँगको हाम्रा कुटनीतिक सम्बन्धलाई पनि अत्यन्तै हलुका र सस्तो बनाइदिने बताएको छ।

साझा पार्टी प्रधानमन्त्री ओलीको यस्तो लज्जाजनक रवैयाको गम्भीर भर्त्सना समेत गरेको छ। ‘यो दशकौँदेखि नेपालका शीर्ष भनिएका नेताहरूले देखाइरहेको आचरणकै निरन्तरता हो। यस्तो आचरणलाई रोक्न र परराष्ट्र मन्त्रालयको कुटनीतिक आचारसंहिता पालना गर्न साझा पार्टी सबै नेताहरूलाई पुनः आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ।

बुधबार दिउँसो नेपाल आएका रअका प्रमुख गोयलले राति बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका थियो। प्रधानमन्त्रीको सचिवालयले भेटको औपचारिक पुष्टि गरेको छ। त्यस्तै गोयलले पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र शेरबहादुर देउवासँग भेट गरेको बताए पनि उनीहरुको सचिवालयले भने त्यसको खण्डन गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .