चीनको विरोधबीच ताइवानले अमेरिकाबाट हतियार खरिद गर्न लागेको हो।
ताइवानले बेइजिङसँग प्रतिस्पर्धा गर्ने मनसाय नभएको बताउँदै आगामी दिनमा अमेरिकासँग रक्षा सम्बन्ध अझ सुदृढ पार्ने पनि उल्लेख गरेको एससीएमपीले जनाएको छ।
हालै अमेरिकाले स्वशासित टापु मानिएको ताइवानलाई लामो दुरीसम्म पुगेर मार हान्नसक्ने क्रुज क्षेप्यास्त्र बेच्ने अनुमति दिएको थियो।
अमेरिकी कँग्रेसले ताइवानलाई हतियार बेच्न अनुमति दिएसँगै बिहीबार मात्र ताइवानले अमेरिकी कार्यको स्वागत गरेको छ।
ताइवानले १.८ अर्ब अमेरिकी डलरमा १३५ एजीएम–८४एच क्रुज मिसाईल र ट्रकबाट प्रयोग गर्न सकिने ११ रकेट लन्चर खरिद गर्नेछ। यस रकेट लन्चरबाट प्रहार हुने रकेटले २७० किलोमिटर परसम्म पुगेर आक्रमण गर्नसक्छ।

बिहीबार ताइवानका रक्षामन्त्री यन डे–फाले भनेका छन्,‘अमेरिकाले हामीलाई हतियार बेच्ने विषयमा सहमति जनाएर इन्डो–प्यासिफिक क्षेत्र र ताइवान स्ट्रेटको रक्षाको संकेत गरेको छ।’
उनी भन्छन्,‘चिनियाँ कम्युनिष्ट शक्तिसँग प्रतिस्पर्धा गर्ने हाम्रो मनसाय होइन। पछिल्लो परिस्थिति, सैन्य अपरेसन र रणनीतिक कार्यका लागि हामीले हतियार खरिद गर्न लागेको हो।’
ताइवानको राष्ट्रपतिको कार्यालयले पनि हतियार खरिद सम्झौतालाई स्वागत गरेको छ। ताइवानले आफ्नो रक्षा क्षमता सुदृढ हुने अनुमान गरेको छ।
ताइवान आफ्नो भूमि भएको दाबी गर्ने चीनले बारम्बार अमेरिकालाई ताइवानसँग कुनै सम्झौता नगर्न चेतावनी दिँदै आएको थियो। चेतावनी बाबजुद अब अमेरिकाले ताइवानलाई हतियार बेच्नेछ।
चीनले ताइवानलाई आक्रमण गरेरै कब्जा गर्ने बताइरहँदा ताइवानले आफू स्वतन्त्र मूलुक भएको बताउँदै चिनियाँ एक देश दुई प्रणाली आफ्नो भूमिमा नचल्ने बताउँदै आएको छ।
यसअघि अमेरिकी कँग्रेसले ताइवानसँगको हतियार सम्झौतालाई अनुमोदन गर्दा चीनका विदेशमन्त्री वाङ यीले चीनले ताइवान र अमेरिकाविरुद्ध आवश्यक प्रतिक्रिया जनाउने बताएका थिए।

प्रतिक्रिया