राजनीति


प्रचण्ड र नेपालको सचिवालयले भन्यो : गोयलसँग भेट भएको छैन

प्रचण्ड र नेपालको सचिवालयले भन्यो : गोयलसँग भेट भएको छैन

नेपालखबर
कात्तिक ६, २०७७ बिहिबार ६:४०,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको सचिवालयले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग दुवै नेताले भेटवार्ता नगरेको बताएका छन्।

बुधबार नेपाल आएका रअ प्रमुख गोयलले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाललाई भेटेको समाचार सार्वजनिक भएपछि बिहीबार दुवै नेताका सचिवालयले यसको खण्डन गरेका हुन्।

अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले केही अनलाइनले प्रचण्ड र नेपालसँग गोयलले गोप्य भेटवार्ता गरेको भनी प्रकाशित गरेको भ्रामक समाचारप्रति आफूहरुको ध्यानाकर्षकण भएको बताएका छन्।

उनले अध्यक्ष प्रचण्डले गोयलसँग भेटवार्ता नगरेका बताए। उनले संवेदनशील विषयमा झुट, कपोलकल्पित र भ्रामक समाचार आएको भन्दै त्यसप्रति खेद प्रकट गर्दै आम जनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न अपील समेत गरेका छन्।

याे पनि  :  राती बालुवाटारमा प्रधानमन्त्रीसँग भेटेर रअका प्रमुख गोयल दिल्ली फर्किए

‘अध्यक्ष प्रचण्डलाई भारतीय अधिकारी आएको भन्ने जानकारी पनि छैन, हिजो दिनभर नै उहाँ निवासमै हुनुहुन्थ्यो’, सापकोटाले भने, ‘त्यसैले गोप्य भेटघाट गरेको खबर भ्रामक हो।’

त्यस्तै वरिष्ठ नेता माधवकुमार नेपालका स्वकीय सचिव मोहन गौतमले नेता नेपालले प्रमुख गोयलबीच भेट भएको भन्ने समाचार झुट, कपोलकल्पित र भ्रामक भएको बताएका छन्। उनले समचारबाट भ्रममा नपर्न सबैमा आग्रह समेत गरेका छन्।

‘पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल र रअका प्रमुखबीच भेट भएको भनी कतिपय सञ्चार माध्यममा झुट, कपोलकल्पित र भ्रामक समाचारहरू प्रकाशित भएकोमा त्यसको खण्डन गर्दै यस प्रकारका समाचारहरूबाट भ्रममा नपर्न सम्बन्धित सबैमा सादर अनुरोध छ’, गौतमले भने

बुधबार दिउँसो नेपाल आएका रअका प्रमुख गोयलले बुधबार राति बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग र त्यसअघि पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग होटल द्वारिकामा भेटेको स्रोतहरूले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad