ad ad

राजनीति


राति बालुवाटारमा प्रधानमन्त्रीसँग भेटेर रअका प्रमुख गोयल दिल्ली फर्किए

राति बालुवाटारमा प्रधानमन्त्रीसँग भेटेर रअका प्रमुख गोयल दिल्ली फर्किए

नेपालखबर
कात्तिक ६, २०७७ बिहिबार ५:२८,

राति बालुवाटार निवासमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग डेढ घण्टा गोप्य भेटवार्ता गरेका भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयल बिहीबार बिहान १० बजेर आठ मिनेटमा दिल्ली फर्केका छन्।

विमानस्थलस्थित एक जना सुरक्षा अधिकारीले जनाएअनुसार बुधबार करिब पौने १ बजे विशेष विमानबाट काठमाडौं उत्रेको गोयलको टोली २१ घण्टा काठमाडौंमा बिताएर बिहीबार बिहान १० बजेर आठ मिनेटमा दिल्लीका लागि उडेको हो।

हिजो काठमाडौं उत्रेलगत्तै राजनीतिक दलका नेता तथा सुरक्षा अधिकारीहरूसँग भेटवार्ता थालेका गोयलले राती बालुवाटारस्थित निवासमा पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेको उच्च सुरक्षा स्रोतहरूले जनाएका छन्।

‘गोयलसहित तीन जनाको टोलीले प्रधानमन्त्री ओलीसँग करिब डेढ घण्टा भेटवार्ता गरेको छ’, एक जना सुरक्षा अधिकारीले भने, ‘बुधबार राती १० बजेर १५ मिनेटमा प्रधानमन्त्री निवास बालुवाटार छिरेको गोयलको टोली ११ बजेर ४५ मिनेटमा बाहिरिएको थियो।’

रअका प्रमुख गोयल, उनीसँगै आएका अरुण जैन र अर्का एक जनासहित तीन जनासँग भएको भेटमा प्रधानमन्त्री ओली एक्लै थिए। तर प्रधानमन्त्री ओलीको सचिवालयका सदस्यहरूले यसबारे केही थाहा नभएको बताएका छन्।

कुटनीतिक स्वीकृति लिएर आएका गोयलको आकस्मिक नेपाल भ्रमणबारे सरकारका कुनै पनि निकायले औपचारिक जानकारी दिएका छैनन्। कार्तिक १८ गतेदेखि हुने तय भएको भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवाणेको नेपाल भ्रमणको तयारीको क्रममा गोयल नेपाल आएको अनुमान गरिए पनि भेटवार्तामा के विषयमा छलफल भयो भन्ने खुलेको छैन।

गोयलले प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुअघि नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग होटल द्वारिकामा भेटेको स्रोतहरूले जनाएका छन्।

त्यसअघि गोयलले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटघाट गरेको सुरक्षा अधिकारीहरूले बताए पनि अध्यक्ष प्रचण्डको सचिवालयले त्यसको खण्डन गरेको छ।

प्रचण्डको निजी सचिवालयका प्रेस संयोजक विष्णु सापकोटा जुगलले बिहीबार बिहान प्रेस नोट जारी गर्दै अध्यक्ष प्रचण्डले त्यस्तो भेटघाट नगरेको र भ्रममा नपर्न आग्रह गरेका छन्।

‘अध्यक्ष प्रचण्डलाई भारतीय अधिकारी आएको भन्ने जानकारी पनि छैन, हिजो दिनभर नै उहाँ निवासमै हुनुहुन्थ्यो’, सापकोटाले भने, ‘त्यसैले गोप्य भेटघाट गरेको खबर भ्रामक हो।’ 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .