अमेरिकी राष्ट्रिय सुरक्षा अधिकारीहरूले डेमोक्रेटिक मतदाताहरूलाई तर्साउनेगरी इमेल पठाउने काममा इरान जिम्मेवार रहेको पनि बताएका छन्।
न्याश्नल इन्टेलिजेन्सका निर्देशक जोन र्याटक्लिफले भनेका छन्,‘ती इमेलहरू चरम दक्षिणपन्थी ट्रम्प पक्षधर समूहबाट आएको र मानिसहरूलाई उत्तेजित पारेर अस्थिरता फैलाउने उद्देश्य राखेको देखिन्छ।’
अमेरिकामा राष्ट्रपतीय चुनाव हुन दुई साताभन्दा कम समय बाँकी रहँदा न्याश्नल इन्टेलिजेन्सका निर्देशकले यस चुनावमा इरानसहित रुसले समेत हस्तक्षेपको प्रयास गरेको बताएका हुन्।
वासिङ्टनमा बोलेका र्याटक्लिफले दुवै देशले गैरकानुनी रूपमा केही मतदाताका विवरण पाएको आरोप लगाएका छन्।
उनले इरानले अमेरिकीहरूलाई फर्जी इमेलहरू पठाउँदै अन्योल एवं असहज पार्नुका साथै अमेरिकी प्रजातन्त्रप्रतिको आत्मविश्वास कमजोर पार्न खोजेको आरोप लगाए।
हुलाकबाट पहिल्यै गर्न सकिने मतदानमा अहिलेसम्म ४ करोडभन्दा बढि मत खसिसकेको छ।
चुनावी दिन नजिकिएको बेला अकस्मात् गरिएको त्यस्तो ब्रिफिङमा सङ्घीय अनुसन्धान ब्युरो एफबीआईका निर्देशक क्रिस्टोफर वारे समेत थिए।
उनले त्यहाँ अमेरिकी चुनाव सुरक्षित रहेको र त्यस्ता कुरा सहन नसक्ने बताए।
यसअघि सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसले हस्तक्षेप गरेको भन्दै व्यापक आलोचना भएको थियो। बीबीसी
Shares

प्रतिक्रिया