सरकार र डा. गोविन्द केसीबीच मध्यराति ८ बुँदे सहमति भएको छ। सहमतिसँगै डा.केसीले आइतबार बिहान २७ दिन लामो आमरण अनसन तोड्ने भएका छन्।
डा.केसी र सरकारी वार्ता टोलीका संयोजक गोपिनाथ मैनालीले शनिबार मध्यरातमा सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
सरकार र डा.केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ।
त्यस्तै, भौतिक पूर्वाधार निर्माणसहित सबै कानुनी प्रक्रिया पूरा गरेर आगामी २०८० साल फागुन १० गतेभित्र सुदूरपश्चिम प्रदेशको गेटा, प्रदेश २ को बर्दिबास, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सहमति पनि दुई पक्षबीच भएको छ।
डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउने, कोभिड १९ को पिसिआर परीक्षण विस्तार गर्ने, वयलपाटा अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्न बजेटको व्यवस्था गर्ने सहमति पनि सरकार र डा.केसीबीच भएको छ।
यस्तै विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्ति निस्पक्ष र पारदर्शी बनाउन उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसन्बन्धी विधेयकमा समेट्न तीन साताभित्र मस्यौदा बनाउने र कानूनी व्यवस्था नहुँदासम्म वरिष्ठता र कार्यक्षमताका आधारमा नियुक्त गर्ने सहमति भएको छ।
हेर्नुस् सहमतिपत्र:


Shares

प्रतिक्रिया