पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले केहीले पार्टीभित्र कलह र जनतामा निराशा बाँड्ने काम गरिरहेको आरोप लगाएका छन्।
पार्टीका वरिष्ठ नेता झलनाथ खनालले बुझाएको ३६ बुँदे आरोपपत्रलाई लक्षित गर्दै प्रचण्डको यस्तो टिप्पणी आएको हो।
शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार आयोजित कार्यक्रममा संयोजक दाहालले पूर्वप्रधानमन्त्री समेत रहेका पार्टीका वरिष्ठ नेता खनाल प्रतिक्रियावादीसँग मिलेर पार्टीमा विचलन ल्याउन उद्दत रहेको आरोप लगाए।
उनले कम्युनिष्ट पार्टीहरूले इतिहासमा भोगेका अनुभवहरू नबिर्सन समेत आग्रह गरे। केही दिनअघि नेता खनालले संयोजक दाहाललाई लेखेको असन्तुष्टि पत्रमा वर्तमान नेतृत्वले पार्टी एकता, वैचारिक स्पष्टता र सङ्गठनात्मक पुनर्गठन गर्न नसकेको गम्भीर आरोप लगाएका थिए।
पार्टीको अन्तरिम विधानलाई सार–सङ्ग्रहवादी खिचडी विधानको संज्ञा दिँदै त्यसबाट क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण हुन नसक्ने खनालको दाबी थियो।
संयोजक दाहालले भने, ‘जानेर वा नजानेर हाम्रा कतिपय साथीहरूले समेत जनतामा निराशा बाँड्ने काम गर्दैछन्। फेरि एकचोटी जनतालाई लिएर हामी अघि बढ्छौँ भन्ने कन्फिडेन्स, आत्मविश्वास होइन, हामी कम्युनिष्टहरू विगतमा यस्ता उतारचढाव धेरै भोग्दै आएका, तीसँग लड्दै र जित्दै आएका जात हौँ हामी भन्ने कुरा बिर्सेर साम्राज्यवादी र प्रतिक्रियावादीले फैलाएको हल्लाअनुसार के के कुरा भनेर भ्रम छर्ने पनि कतिपय मानिसहरूले गरेका छन्।’
उनले प्रतिक्रियावादीलाई फाइदा पुग्नेगरी निराशाको खेती नगर्न अपिल समेत गरे।
Shares

प्रतिक्रिया