राजनीति


मन्त्रिमण्डलबारे निर्णय गर्ने जिम्मा ओली र प्रचण्डलाई, वामदेवले भनेः बैठकबाटै मन्त्री छानौँ

मन्त्रिमण्डलबारे निर्णय गर्ने जिम्मा ओली र प्रचण्डलाई, वामदेवले भनेः बैठकबाटै मन्त्री छानौँ

सागर न्यौपाने
असोज ४, २०७७ आइतबार १६:२६,

सत्तारुढ नेकपाको सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठनबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नै दिने भएको छ।

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा मन्त्रिमण्डल परिवर्तनको विषयमा सुझाव लिइएको र भोलि बस्ने बैठकले त्यसबारे निर्णय गर्ने अधिकार दुई अध्यक्षलाई दिने सचिवालयका एक सदस्यले नेपालखबरलाई जानकारी दिए।

प्रधानमन्त्री ओलीले ‘पर्फमेन्स’ राम्रो भएका मन्त्री हटाउन नहुने भन्दै सुझाव माग गरेका थिए।

‘प्रधानमन्त्रीजीले मन्त्री फेरबदल कसरी गर्न सकिन्छ भनेर सुझाव माग्नुभयो। त्यसमा साथीहरुको फरक फरक सुझाव आयो,’ ती सचिवालय सदस्यले भने, ‘केहीले धेरै मन्त्री हटाउनुपर्ने सुझाव दिए। त्यस्तै केही, केही मात्र परिवर्तन गरौँ भन्ने सुझाव पनि आएको छ।’

मन्त्रिपरिषद् पुनगर्ठनलाई मुख्य एजेन्डा बनाएर सुरु भएको छलफल भोलि पनि जारी रहनेछ।

‘प्रधानमन्त्री ओलीले सरकारको काम प्रभावकारी बनाउन पनि केही नयाँ भिजन र क्षमता भएकालाई मन्त्री बनाउने सोचेको बताउनुभयो,’ ती नेताले भने, ‘उहाँले रिक्त रहेकासहित बढीमा २, ३ जना मन्त्री थप गर्न चाहेको संकेत गर्नुभयो, यसको ठोस निर्णय दुई अध्यक्ष बसेर गर्नुहुनेछ।’

भोलि बस्ने बैठकले मन्त्री बन्ने मापदण्ड बनाउने सम्भावना रहेको छ।

‘मापदण्ड बनाइएन भने कसरी मन्त्री छानियो, थाहा हुँदैन। अनि नेताहरुलाई पनि ह्युमिलेट गरेको फिल हुन्छ, यसअघि केही मन्त्री हटाउँदा त्यस्तो महसुस गर्नु भएको छ, भोलिको बैठकले एउटा मापदण्ड पनि बनाउनेछ, त्यसैलाई टेकेर मन्त्री छानिन सक्छन्,’ ती सचिवालयका सदस्यले थपे।

प्रचण्डले पनि मन्त्रिमण्डल पुनर्गठन गर्दा मापदण्ड तय गरेर मात्र गर्नुपर्ने सुझाव दिएका थिए।

‘राम्रो विधि भनेको त प्रधानमन्त्रीबाहेक सबै मन्त्री हटाएर नयाँ बनाउँदा हुन्छ, तर, केही भरखरै मन्त्री हुनुभएको छ, केहीको काम देखिने क्रममै पनि होला,’ प्रचण्डले बैठकमा भने, ‘अब मन्त्री बनाउँदा नयाँ, अनुभवी, समावेशी हुनेगरी बनाउनुपर्छ, प्रधानमन्त्रीले काम गर्ने भएकोले मुख्यतः उहाँले पनि ध्यान दिनुभएकै होला।’

बैठकमा वरिष्ठ नेता झलनाथ खनालले पनि प्रचण्डको भनाइमा समर्थन जनाउँदै अहिलेको मन्त्रिमण्डल समावेशी हुन नसकेको, केही ठूला नेता छुटेको, केहीले अवसरै नपाएको विषय पुनर्गठनमा समेटिनुपर्ने बताएका थिए।

‘यो मन्त्रिमण्डल चुनावसम्म जान्छ, यसलाई समावेशी बनाऔं, त्यहाँ पूर्वपश्चिम, सिनियर, जुनियर, महिला, आदिवासी, जनजाति, मधेस, पिछडा सबैको प्रतिनिधित्व हुने बनाऔं। सकभर नयाँ, योजना भएकालाई अवसर दिऔं,’ खनालले बैठकमा सुझाव दिएका थिए।

वरिष्ठ नेता माधवकुमार नेपालले वरिष्ठ सबैलाई मन्त्री बनाउन सुझाव दिए।

‘उपाध्यक्ष, प्रवक्ता लगायत पार्टीका सिनियर नेता सबैलाई मन्त्री बनाऔं, त्यसो गर्दा विधि र पद्धति पनि बस्छ, नेताहरुको सम्मान पनि हुन्छ, प्रधानमन्त्रीलाई काम गर्ने स्पिरिट पनि मिल्छ,’ नेपालले भने।

उपाध्यक्ष वामदेव गौतमले भने मन्त्री बन्नेहरुको नाम बैठकबाटै टुंगो लगाउनुपर्ने बताएका थिए।

‘दुई अध्यक्ष बसेर होइन सचिवालय बैठकबाटै मन्त्री बन्नेहरु तय गरौं,’ गौतमले भने, ‘को हटाउने को राख्ने यहीँबाट निर्णय गरेर जानुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .