राजनीति


मन्त्रिमण्डलबारे पार्टीमा छलफल: सरकार सञ्चालनमा ओलीको एकलौटी सकिएको हो?

मन्त्रिमण्डलबारे पार्टीमा छलफल: सरकार सञ्चालनमा ओलीको एकलौटी सकिएको हो?

मणि दाहाल
असोज ४, २०७७ आइतबार १७:८,

सत्तारुढ दल नेकपामा पहिलो पटक सरकार सञ्चालनको विषय पार्टी बैठकको एजेन्डा बनेको छ। यसअघि सरकारसम्बन्धी महत्वपूर्ण निर्णयहरु प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको परामर्शमा गर्दै आएका थिए।

प्रधानमन्त्री ओलीले नेता माधवकुमार नेपालसँग कहिलेकाहीँ मात्र सरकार सञ्चालनको विषयमा छलफल गर्ने गरेका थिए। सरकार सञ्चालनको विषयमा पार्टी कमिटीमा छलफल हुने गरेको थिएन। त्यसैले मन्त्रिपरिषद् र सरकार सञ्चालनमा ओलीले एकलौटी गरेको आरोप लाग्ने गरेको थियो।

तर, नेकपाको आइतबार भएको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषय औपचारिक एजेन्डा बनेको हो। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद् पुनर्गठनको विषयमा सैद्धान्तिक छलफल सुरु भएको बताए।

‘आइतबार भएको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषय पहिलो पटक पार्टीको कमिटीमा औपचारिक एजेन्डा बनेर आएको छ। यो सकारात्मक विषय हो,’ एक स्थायी कमिटीका सदस्यले भने, ‘यसले नेताप्रधान नभएर पार्टीलाई कमिटीप्रधान बनाउने अवस्था सिर्जना गर्न सक्छ। जुन लामो समयदेखि कमिटीबाट व्यक्तिमा सरेको थियो।’

तर, एजेन्डा बन्दै सरकार सञ्चालनको विषयमा ओलीको एकलौटी नसकिने अर्का एक नेताले बताए। कमिटीमा गरिएको निर्णय कार्यान्वयन हुन्छ कि हुँदैन भनेर हेर्नुपर्ने उनले बताए।

‘छलफल सुरु भएको छ, त्यो सकारात्मक हो,’ ती स्थायी कमिटीका सदस्यले भने, ‘तर, छलफल र निर्णय हुने तर कार्यान्वयन नहुने समस्या छ। कमिटीले गरेको निर्णय कार्यान्वयन गरे समस्या आउँदैन। होइन भने समस्या सुरु भइहाल्छ। त्यसैले उत्साहित भइहाल्नु पर्ने अवस्था छैन।’

चार घण्टा चलेको आइतबारको बैठकमा मन्त्रिपरिषद् पुनर्गठन के आधारमा हुने भन्ने विषयमा नेताहरुबीच छलफल भएको थियो।

बैठकले मापदण्ड निर्धारण गरेर मन्त्रीहरुको छनोटको जिम्मेवारी भने दुई अध्यक्षहरुलाई दिने तयारी गरेको एक सचिवालय सदस्यले बताए।

पार्टीभित्र देखिएको विवाद समाधानका लागि गठन गरिएको कार्यदलको दिएको प्रस्तावअनुसार मन्त्रिपरिषद् पुनर्गठनको विषयमा सचिवालय बैठकमा छलफल सुरु भएको हो।

२०७४ मंसिरमा भएको आमनिर्वाचनमा जित हासिल गरेपछि तत्कालीन नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो। तर, मन्त्रीहरु भने प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्री नेपालसँगको परामर्शमा छानेका थिए।

२०७५ सालमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा गठन भएपछि प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्ड परामर्श गर्ने गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .