राजनीति


नगरप्रमुखविरुद्ध चक्काजाम गर्ने २ वडा अध्यक्षसहित ६ पक्राउ

नगरप्रमुखविरुद्ध चक्काजाम गर्ने २ वडा अध्यक्षसहित ६ पक्राउ

नेपालखबर
साउन ८, २०७६ बुधबार ७:२२,

हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईविरुद्ध चक्काजाममा उत्रिएका दुई वडाध्यक्षसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ। गत असार ३१ गते आयोजित नगरसभाप्रति असन्तुष्टि जनाउँदै चरणबद्ध आन्दोलनमा उत्रिएका उनीहरुले आज बिहान चक्काजाम गर्न खोजेका थिए।

चक्काजाममा सहभागी वडा नं ५ दुर्छिमका वडाध्यक्ष रमेश तिवारी, वडा नं ७ महादेवस्थानका वडाध्यक्ष चइन्द्र राई र सोही वडाका वडासदस्य नीरजमानसिं बस्नेतसहित छ जनालाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुसँगै चक्काजाममा बसेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हलेसी नगर समितिका कार्यालय सदस्य प्रमोद श्रेष्ठ, नगर समितिकै सचिवालय सदस्य सर्वधन बस्नेत र महादेवस्थान वडासमिति सचिव धनकुमार भुजेललाई प्रहरीले पक्राउ गरेको छ। चक्काजाम गराउन बसेका वडाध्यक्षसहित छ नेकपाका कार्यकर्ता पक्राउ परेपछि अहिले दिक्तेल–हलेसी सडकखण्ड तनाग्रस्त बनेको छ।

चार वडाध्यक्षसहित २६ जनप्रतिनिधि, नेकपानिकट कार्यकर्ता र स्थानीयवासीले हिजो नाराजुलुससहित एक घण्टा दुर्छिमस्थित नगरपालिकाको कार्यालयमा धर्ना दिएका थिए । सडकमा अवरोध पुर्रयाएकाले चक्काजामको नेतृत्व गर्ने दुई वडाध्यक्षसहित छ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए।

'पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय हलेसीमा राखिएको छ', उनले भने, 'उनीहरुलाइ के गर्ने भन्ने बारेमा सुरक्षा समितिको बैठक बसेर निर्णय गर्ने तयारी भइरहेको छ।'

नगरप्रमुखदेखि रुष्ट बनेका उनीहरुले सम्बन्धित वडाको जनप्रतिनिधिलाई थाहै नदिई कतिपय योजनाको उपभोक्ता समिति गठन गरेको, हालसम्मको आन्तरिक राजश्व चुस्तदुरुस्त नदेखाइएको, योजनालाई कार्यकर्ता लक्षित गरिएको लगायतका आरोप लगाएका छन्।

जनप्रतिनिधिसहित ६ जना नेता तथा कार्यकर्ता पक्राउ परेपछि अहिले हलेसी नगरसमितिको बैठक बसिरहेको छ । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको प्रति आपत्ति जनाउँदै विज्ञप्ति जारी गर्ने तयारी भइरहेको नगरसमिति अध्यक्ष सुरेन्द्र राईले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad