ad ad

राजनीति


ओली–प्रचण्डकाे स्वीकाराेक्ति : अन्तरविरोधका कारण बैठक नै अवरुद्ध हुनु गम्भीर (दस्तावेज)

ओली–प्रचण्डकाे स्वीकाराेक्ति : अन्तरविरोधका कारण बैठक नै अवरुद्ध हुनु गम्भीर (दस्तावेज)

नेपालखबर
भदौ ३०, २०७७ मंगलबार ५:५५,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको अन्तरविरोध उत्कर्षमा पुगेर स्थायी कमिटी बैठक अवरुद्ध हुनुलाई गम्भीर अवस्था भनेका छन्।

पार्टीका तल्ला कमिटीहरुलाई सरकार र पार्टीको जिम्मेवारीका विषयमा स्थायी समिति बैठकमा भएको सहमतिको औपचारिक रुपमा जानकारी दिनका लागि दुई अध्यक्षद्वारा साेमबार जारी गरेको १९ बुँदे ‘अन्तरपार्टी निर्देशनमा–५’ भनिएको छ, ‘अन्तरविरोध उत्कर्षमा पुगेर स्थायी कमिटीको बैठकसमेत अवरुद्ध हुन गएको परिस्थितिको गम्भीरतालाई महसुस गर्दछ।’

विगतका कमी कमजोरीबाट शिक्षा लिँदै पार्टी एकताको रक्षा र विकास गर्ने संकल्प समेत उक्त निर्देशिकामा गरिएको छ।

‘विगतका कमी–कमजोरीहरूबाट शिक्षा लिने, पार्टीभित्रका विशेषतः नेतृत्व तहका असमझदारी, अविश्वास र अन्तरविरोध समाधान गर्ने, परस्परमा विश्वास कायम गर्ने र पार्टी एकताको रक्षा एवम् विकास गर्ने संकल्प गर्दछ’, निर्देशिकामा भनिएको छ।

अन्तरपार्टी निर्देशनमा पार्टी एकताको महत्वलाई आत्मसात् गर्ने, पद्धति र संस्थागत प्रणालीलाई सबल तुल्याउने, अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने, राजनीतिक तथा संगठनात्मक क्षेत्रमा काम गर्ने, एकताको राष्ट्रिय महाधिवेशन गर्नेजस्ता विषय समेटिएका छन्।

फागुनबाट शुरु भएको नेकपाभित्रको अन्तरविरोध बैशाखको दोस्रो साता सतहमा देखिएको थियाे भने असार १० गतेबाट शुरु भएको स्थायी कमिटीको बैठकमा यो उत्कर्षमा पुगेको थियो।

स्थायी कमिटीका बहुमत सदस्यहरुले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पबाट राजीनामा दिन माग गरेका थिए। तर ओलीले अध्यक्ष तथा प्रधानमन्त्री दुवै पद नछाड्ने अडान लिएपछि  नेकपमा विवाद उत्कर्षमा पुगेकाे थियो। विवादको कारण पटक–पटक स्थगित भएको बैठक साढे २ महिनाभन्दा बढी समय चलेको थियो।

१९ पृष्ठ लामो निर्देशिकामा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको पुरै कार्यकाल प्रधानमन्त्री हुने र अध्यक्ष प्रचण्डले कार्यकारी अध्यक्षको अधिकार प्रयोग गरेर पार्टी सञ्चालन गर्ने उल्लेख छ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिभासको यो कार्यकालभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर सरकारलाई नेतृत्व गर्ने र सरकारको काममा केन्द्रित हुने’, निर्देशिकामा भनिएको छ, ‘अध्यक्ष कमरेड पुष्पपकमल दाहाल प्रचण्डले कार्यकारी अधिकारसहित पार्टीको बैठकहरु सञ्चालन, निर्यणको कार्यान्वयन र समग्र पार्टी कामको जिम्मेवारी संलग्न हुने।’

जसमा अध्यक्षद्वयको सहमतिमा बैठकको एजेन्डा तय हुने र पार्टीको कमिटीले त्यस विषयमा निर्णय गर्नेछ। त्यस्तै निर्देशिकामा दुवै अध्यक्षसँग परामर्श गरेर महासचिवले प्रस्ताव तयार पार्ने र दुवै अध्यक्षहरुले पार्टीको परामर्शमा तयार पार्ने उल्लेख छ।

महासचिव विष्णु पौडेलको नेतृत्वमा गठन भएको कार्यदलले गरेको प्रस्तावलाई आधार बनाएर दुवै अध्यक्षहरुले स्थायी कमिटीको बैठकमा नयाँ प्रस्ताव प्रस्तुत गरेका थिए। त्यही प्रस्तावमा सहमति भएपछि निर्देशिकाका रुपमा जारी गरेको हो।

भदौ २६ गते सम्पन्न नेकपाको स्थायी कमिटी बैठकका निर्णयका आधारमा दुई अध्यक्षद्वारा पार्टी पंक्तिलाई जारी अन्तरपार्टी निर्देशन–५

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .