राजनीति


पूर्व अख्तियार प्रमुख उपाध्याय भन्छन्ः विवादास्पद मान्छे नियुक्त गरेपछि नतिजा पनि त्यस्तै आउँछ (भिडियाे)

पूर्व अख्तियार प्रमुख उपाध्याय भन्छन्ः विवादास्पद मान्छे नियुक्त गरेपछि नतिजा पनि त्यस्तै आउँछ (भिडियाे)

नेपालखबर
भदौ २९, २०७७ सोमबार १०:३९,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्यायले पछिल्लो समय अख्तियारले उदाहरणीय काम गर्न नसकेको बताएका छन्।

पछिल्लो आठ/दश वर्षयता अख्तियारले सानातिना मुद्दा लगाउने तर ठूला मुद्दाहरुलाई नदेख्ने प्रवृति देखा पर्दा उदाहरणीय काम नदेखिएको उपाध्यायले बताए। अख्तियारमा दक्ष मान्छेहरु नहुँदा आरोपपत्र सही ढंगले तयार नभएकाले साना मसिना केसहरुमा अख्तियार अल्झिएको हुनसक्ने उनले बताए।

उनले भने, ‘अहिले अख्तियार कस्तो देखिन्छ भने उदाहरणीय काम गरेको देखिदैन। अलिकति सानातिना मसिना केसहरुमा लागेको देखिन्छ। स्टिङ अपरेसन भनेको छ त्यसमा पनि २ हजार ३ हजार मान्छे समातिराखेको छ। हुनत केही मुद्दाहरु ठूला मुद्दाहरु पनि लागेको छ लाग्न त तर धेरै जसो त्यस्ता मुद्दाहरु छन्। अख्तियारको आरोप पत्र पनि दक्ष मान्छेहरुले तयार नपारेको देखिन्छ त्यसकारण त्यहाँ दक्ष मान्छेहरुको खाँचो परेको जस्तो देखिन्छ।’

नेतृत्व चयन गर्दा नै होस पुर्‍याएर नगर्दाको परिणाम देखिएको आठ/दश वर्षयता देखिएको उनले बताए। अख्तियारको प्रमुख आयुक्तमा नियुक्त हुने मान्छेको विगत कस्तो थियो, कुनै उदाहरणीय कार्य गरेको छ या छैन लगायतका विषयमा मूल्यांकन गरेर नियुक्त नगर्दा गलत परिणाम आउने गरेको उनले बताए। विवादास्पद मान्छे नियुक्त गरेपछि त्यसको नतिजा पनि विवादास्पद नै आउने गरेको उनको भनाई छ।

‘पहिलो कुरा अख्तियारमा नियुक्ती गर्दाखेरी जसले नियुक्ती गर्ने हो त्यो मान्छेले होस पुर्‍याएर नियुक्ति गर्नुपर्‍यो। जसलाई नियुक्त गर्ने हो त्यसको व्याकग्राउण्ड पेपर पुरा खानतलासी गर्नुपर्‍ यो। त्यो मान्छेको कहाँ काम गरेको थियो कस्तो काम गरेको थियो, त्यसले कुन उदाहरणीय प्रस्तुत गरेको थियो विभिन्न ठाउँमा काम गरेको होला त्यस्तो मान्छे। त्यसको के विगत थियो जहाँ काम गरेको थियो त्यहाँका मान्छेहरुले त्यसको के मुल्यांकन गर्छन् सबै कुरा अध्ययन नगरिकन मान्छे नियुक्त गर्न हुँदैन। विवादास्पद मान्छे नियुक्त गरेपछि त्यसको नतिजा पनि विवादास्पद नै आउँछ।’

राजनीतिक नेतृत्वले अख्तियारको प्रमुख आयुक्त छान्ने भएकाले गलत मान्छे नियुक्त गरेमा त्यसबाट निस्कने परिणामको जिम्मेवारी पनि छान्ने व्यक्तिहरुले नै लिनुपर्ने उपाध्यायले बताए।

उनले भने, ‘जसले नियुक्ति गर्ने हो ति व्यक्तिहरु देशका जिम्मेवार व्यक्तिहरु हुन्। हामीले छानेर पठाएका व्यक्तिहरु हुन्। एकजना प्रधानन्यायाधीश बाहेक अरु सबैलाई हामीले छानेरै पठाएको हो। जनताले नै छानेर त्यत्रो ठूलो पदमा पुगेका मान्छेहरुले नै नगरेपछि त अब कसको आशा गर्ने त्यसो भए। स्वयं प्रधानमन्त्री त्यसमा बस्नुहुन्छ। विपक्षि दलको नेता बस्नुहुन्छ। संवैधानिक परिषदमा उहाँहरुले नै देशलाई निष्पक्ष राम्रो, गतिलो विगत भएको योग्यता पुगेको मान्छे र काम गर्न सक्ने मान्छेलाई छान्न सक्नुभएन भने अब सडकको मान्छेले त छान्ने होइन। त्यसकारणले जिम्मेवारी उहाँहरुले लिनुपर्छ।’

अख्तियारमा जाखिर खान मात्रै आउने व्यक्तिले कुनैपनि राम्रो नतिजा दिन नसक्ने उनले बताए। अख्तियार प्रमुखसँग काम गर्ने अठोट र लक्ष्य भएमात्र सही नेतृत्व दिन सक्ने उपाध्यायको भनाई छ। उनले कुनैपनि सही नेतृत्व अख्तियारमा आउन सक्दाखेरी उदाहरणीय काम हुन जाने र अन्य आयुक्तहरुलाई पनि नियत्रणमा जान बाध्य पार्ने बताए।

उनले भने, ‘पहिले एउटा मिसन लिएर आउनुपर्‍यो। कुनै मान्छे अख्तियारमा जागिर खान्छु भन्ने विचारले आउँछ भने बरु नआए हुन्छ। त्यहाँ बदनाम भइन्छ, केही काम गर्न सकिदैन। गरेको पनि मान्छेले रुचाउँदैन। आफूलाई खतरा पनि हुन्छ। तर केही गर्छु, देशका लागि मेरो मिसन छ म जन्मेको यहि देशमा हो, म नागरिक हुँ, मैले गर्दा धेरै काम हुनसक्छ भन्ने मिसन लिएर उद्देश्य लिएर त्यसप्रति प्रतिवद्ध छ भनेदेखि त्यस्तो मान्छे आउन पर्छ। जहाँसम्म मान्छे खोेज्ने कुरा हो। मान्छे खोज्दापनि उसको पुरा विगत हेरेर मात्रै नियुक्त गर्नपर्छ। आइसकेपछि उक्त व्यक्तिमा प्रतिवद्धता छ भने त्यसले नेतृत्व पनि दिनसक्छ। यद्दपी त्यसले मात्रै सबै कुरा निर्णय गर्ने होइन। तर नेतृत्व भनेको कुरा ठूलो कुरा हो। नेतृत्व दिन सक्दाखेरी उदाहरणीय हुन जान्छ र अरु आयुक्तहरु पनि नियन्त्रणमा जान सक्छन्।’

अख्तियार प्रमुख आयुक्त भइसकेका व्यक्तिहरु नै अख्तियाको कारबाहीमा पर्ने, अदालतमा मुद्दा पर्ने, योग्यता नपुगेर अदालतले हटाइदिनु पर्ने लगायतका क्रियाकलापले अख्तियारको लोकप्रियता घट्दै गएको स्पस्ट हुने उनले बताए। राजनीतिक व्यक्तिले नियुक्त गरेपछि पनि स्वतन्त्र भएर काम गर्नुपर्ने ठाउँमा फेरिपनि व्यवहारीक रुपमा राजनीतिक व्यक्तिको हस्तक्षेप भइराखेको देखिएको उपाध्यायको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad