राजनीति


असोज मध्यसम्ममा मन्त्रिमण्डल पुनर्गठन, कार्यदलका अधिकांश सदस्य मन्त्री बन्दै

असोज मध्यसम्ममा मन्त्रिमण्डल पुनर्गठन, कार्यदलका अधिकांश सदस्य मन्त्री बन्दै

सागर न्यौपाने
भदौ २३, २०७७ मंगलबार १६:१६,

पार्टीभित्र देखिएको विवाद साम्य भएसँगै सत्तारुढ नेकपाले असोजको मध्यसम्ममा मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरेको छ।

त्यस्तै, विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलका अधिकांश सदस्यलाई मन्त्री बनाउने तयारी पनि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन्।

अब बस्ने स्थायी समिति बैठकलगत्तै यससम्बन्धी गृहकार्य तीव्र हुने र बढीमा असोज दोस्रो हप्ताभित्र मन्त्रिमण्डल पुनर्गठन भइसक्ने नेताहरु बताउँछन्।

नेकपा स्थायी समिति बैठक भदौ २६ गते बस्दैछ। दुई दिनमा बैठक सम्पन्न गर्ने तयारी गरिएको छ।

असार १० गते सुरु भएको स्थायी समितिको बैठकमा तय गरिएका ७ एजेन्डामध्ये सीमा समस्याका विषयमा मात्र छलफल भएको थियो। बाँकी ६ वटा विषयमा छलफल गराएर सर्वसम्मत निर्णय गराई स्थायी समिति बैठक सक्ने तयारी भइरहेको एक स्थायी समिति सदस्यले बताए।

‘बैठकलाई २ दिनमै सक्ने तयारी भइरहेको छ,’ ती नेताले नेपालखबरसँग भने, ‘सोही अनुसार दुई अध्यक्षले तयारी गरिरहनु भएको छ।’

प्रधानमन्त्री ओलीले कार्यदलका संयोजक महासचिव विष्णु पौडेल, सदस्यहरु भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाललाई मन्त्री बनाउने लगभग निश्चितजस्तै रहेको स्रोतले जनायो। सुरेन्द्र पाण्डेको हकमा मन्त्रालयको आधारमा निर्णय लिइने सम्भावना छ। पाण्डे यसअघि झलनाथ खनाल नेतृत्वको सरकारमा अर्थमन्त्री थिए।

‘अबका अर्थमन्त्रीका रुपमा हेरिएका महासचिव पौडेलले आफू महाधिवेशनमा केन्द्रित रहने भनिरहनुभएको छ,’ स्रोतले भन्यो, ‘यदि उहाँ जानुभएन भने त्यो ठाउँमा पाण्डेलाई लैजाने पनि हुनसक्छ।’

कार्यदलका अर्का सदस्य शंकर पोखरेल प्रदेश ५ का मुख्यमन्त्री छन्।

‘दुवै अध्यक्षको सहमतिमै प्रधानमन्त्रीलाई सजिलो हुनेगरी मन्त्रिमण्डल पुनर्गठन हुन्छ,’ ओलीनिकट एक नेताले भने।

त्यसो त प्रधानमन्त्री ओलीले आफ्नो क्याबिनेटमा रहेका मन्त्रीहरुमध्ये हटाउने मन्त्रीहरुको सूची तयार पारिसकेको एक नेताले ठोकुवा गरे।

‘मन्त्रालयको पर्फमेन्स, सामाजिक रुपमा विवादमा नआएको, पार्टीभित्र सहयोग गर्ने मन्त्रीहरुलाई राखेर अरु फेरबदल गर्नुहुन्छ,’ ती नेताले भने, ‘हटाउने मन्त्रीको सूची उहाँले उतारिसक्नुभएको छ। तर, अर्का अध्यक्षसँग पनि सहमति लिनुपर्ने भएकोले उहाँले सोचेको जस्तो नहुन सक्छ।’

उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभामा मनोनित हुँदैछन्। उनी पनि मन्त्री बन्न इच्छुक छन्।

बिहीबार बस्ने क्याबिनेट बैठकले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपति विद्योदेवी भण्डारी समक्ष सिफारिस गर्ने एक नेताले बताए। गौतमलाई सांसद बनाएसँगै मन्त्री बनाउन आउने दबाबलाई ओलीले विश्लेषण गरिरहेका छन्।

सामाजिक सञ्जाल र केही राजनीतिक दलले गौतमलाई राष्ट्रियसभा सदस्यमा लैजाने निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन्।

अर्थमन्त्री डा. युवराज खतिवडाको पदावधि सकिएपछि सो मन्त्रालय रिक्त छ, गौतमले त्यही मन्त्रालय चाहेका छन्।

ओलीले पार्टीमा आफ्नो पहुँच विस्तार हुनेगरी मन्त्रिमण्डल हेरफेर गर्ने उनीनिकट एक नेताले बताए।

‘प्रधानमन्त्रीले पार्टीको सचिवालय, स्थायी समिति र संसदीय दलमा आफ्नो प्रभाव केही बढ्नेगरी मन्त्रिमण्डल फेरबदल गर्नुहुन्छ,’ ती नेताले थपे, ‘अब पुनर्गठन हुने मन्त्रिमण्डल नै अर्काे चुनावसम्म पनि रहने भएकोले निकै सोच विचार गरेर निर्णय हुन्छ।’

पहिलो नम्बरको अध्यक्ष र प्रधानमन्त्री भएका ओली पार्टीको सचिवालय, स्थायी समिति र संसदीय दलमा अल्पमतमा छन्। 

कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ एकातिर हुँदा ओली अल्पमतमा परेका हुन्। आफू अल्पमतमा परेकै कारण बेलाबेला पार्टीभित्र कमजोर बनाउने प्रयास भइरहेको उनले महसुस गरेका छन्। त्यसै कारण अब फेरबदल हुने मन्त्रिमण्डलमा ओलीले यसलाई गम्भीर रुपमा लिएर मात्र निर्णय गराउने ओलीसँग निकट ती नेताले बताए।

मन्त्रिमण्डल पुनर्गठनका विषयमा ओली र प्रचण्डबीच सहमति जुटेपनि कुन मोडेलमा फेर्ने भन्ने निष्कर्षमा पुगेका छैनन्।

प्रधानमन्त्री ओलीले रिक्त रहेको मन्त्रालय र केही मन्त्री हटाएर जान चाहेका छन्। सहरी विकास, सञ्चार, सूचना तथा प्रविधि र अर्थ मन्त्रालय अहिले खाली छन्।

प्रधानमन्त्री ओलीले केही नेताहरुसँग कुन मोडलमा मन्त्रीमण्डल पुनर्गठन गर्ने भन्नेबारे छलफल गरेका छन्। 

मन्त्री बनाउन माग गर्दै प्रचण्डलाई नेताहरुले भेटघाट गरेपनि यो पटक उनले मुख खोलेका छैनन्। खुमलटार स्रोतका अनुसार प्रचण्ड अहिले कार्यदलले भदौ ६ गते बुझाएको प्रतिवेदन परिमार्जन र थपघटमा व्यस्त छन्।

‘सोमबार प्रधानमन्त्री ओलीसँग भेट गरेपछि उहाँ कार्यदलको प्रतिवेदन परिमार्जन र थपघटमा हुनुहुन्छ, दुई अध्यक्षको एउटै निष्कर्ष निकालेर स्थायी समितिमा पेस गरिनेछ’, स्रोतले भन्यो।

आफू निकटका नेताहरुसँग अध्यक्ष प्रचण्डले अब बस्ने बैठकमै सबै विषयमा छलफल गर्ने भन्दै ओलीसँग मिलेर जानुको विकल्प नभएको बताएका छन्।

कार्यदलको प्रतिवेदनले विवाद समाधान नगर्ने र त्यसले ओलीलाई मात्र फाइदा पुगेको भन्दै भेट्न पुगेका नेताहरुलाई प्रचण्डले सो कुरा बताएका हुन्।

‘बैठकमै सबै विषयमा छलफल गरौं, अहिले अर्काे विकल्प छैन,’ मिलेर जाने हो, प्रचण्डको भनाई उधृत गर्दै ती नेताले भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad