राजनीति


उपत्यकाका सीडीओ भन्छन् : दशैँसम्म निषेधाज्ञा जारी गरौं, नाकामा सेना राखौं (भिडियाे)

उपत्यकाका सीडीओ भन्छन् : दशैँसम्म निषेधाज्ञा जारी गरौं, नाकामा सेना राखौं (भिडियाे)

नेपालखबर
भदौ २१, २०७७ आइतबार १२:४२,

काठमाडौं उपत्यका भित्रका तीनवटै जिल्ला प्रमुख अधिकारीहरुले काठमाडौं उपत्यका प्रवेशमा थप कडाई गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको आइतबारको बैठकमा उपस्थिति भएका उपत्यका भित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारहरुले उपत्यका प्रवेश गर्ने र बाहिरिने मानिसहरुको आवागमनमा थप कडाई गर्नुपर्ने बताएका हुन्। काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यका प्रवेश गर्ने पाँचवटै नाकामा सेना परिचालन गर्नुपर्ने बताए।

उनले चाहेर पनि र नचाहेर पनि दैनिक २ हजार भन्दा बढी मान्छेलाई भित्र्याउनु परेको उल्लेख गर्दै नाकालाई ठप्प पार्न नसकिने बताए। अहिले पनि विभिन्न ढुवानीका साधन मार्फत मानिसहरु आवतजावत भइराखेकाले त्यसलाई कडाई गर्न सेना परिचालन गर्नुपर्ने आवस्यकता देखिएको दाहालले बताए।

उनले भने, ‘सीमा नाकामा कस्तो हुँदैछ भने चाहेर पनि नचाहेर पनि करिब २ हजार मान्छेलाई हामिले काठमाडौं भित्र्याउनै पर्छ। प्रत्येक दिन २ हजार मान्छे भित्र्याउनै पर्छ। यदि २ हजार मान्छे नभित्र्याउने र ठप्प पार्ने भनेको यहाँ ग्यास बाहिरबाट आउँछ, खाद्यान्न बाहिरबाट आउँछ आयातित उपभोग हो काठमाडौंको। त्यसकारण काठमाडौंमा ठ्याप्पै पार्ने भन्ने अलि गाह्रो हुँदो रहेछ। अनावस्यक मान्छे हिँडडुल गर्ने कुराका लागि सिमामा कडाई गर्नुपर्ने हुन्छ। सिमामा कडाई गर्ने कुरामा नेपाली सेनालाई नै खटाउनु पर्छ। नेपाली सेनाको एउटा समूह नै पाँचवटै नाकामा राखिदिउँन के फरक पर्छर भनेर डीडीएमसीबाट निर्णय गरेर माथि पठाइयो तर सीसीएमसीमा त्यो कुराको त्यति सुनुवाई नभएको हो की।’

प्रजिअ दाहालले प्रहरीले निगरानी गर्न नसकेको नभई प्रहरीले धेरै काम गर्नुपर्दा भ्याइ नभ्याई भएकाले सीमा नाकाको निगरानी कमजोर भएको बताए। सडकका जड्याँहालाई उठाउनेदेखि सुन चोर सम्मलाई पक्राउ गरेर काम गर्नुपर्ने जिम्मेवारी भएको प्रहरीलाई भ्याइ नभ्याई भएकाले सिमानामा नेपाली सेनालाई नै खाटाउनुपर्ने उनले बताए।

भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले उपत्यका प्रवेश गर्ने नाकाहरुबाट मान्छे प्रवेश गराउन माथिल्लो तहका जिम्मेवार निकायबाट दवाव आउने गरेको बताइन्।

उनले भनिन्, ‘हामीलाई कस्तो दवाव आउँछ बुझ्नुपर्ने, निर्णयक तहमा बस्नुभएको जिम्मेवार व्यक्तिले नै नाकामा आउनुहुन्छ अथवा नाका भन्दा उता गाडि ल्याएर त्यहाँबाट मान्छेलाई यता ल्याउने प्रवृति पनि देखिन्छ।’

योजनावद्ध रुपमा मानिसहरुलाई उपत्यका भित्र प्रवेश गर्न दिने विषयमा सबैको ध्यान जानुपर्ने उनले बताइन्। मान्छेलाई आउनै दिन्न भन्दा पनि जिम्मेवार रुपमा कसरी ल्याउने वा पठाउने भन्ने सम्बन्धमा काम गर्नुपर्ने आवस्यकता रहेको प्रजिअ पाण्डेले बताइन्।

उनले भनिन्, ‘एउटा योजनावद्ध तरिकाले ल्याउनुपर्ने मान्छेलाई पनि योजनाभित्र राखेर ल्याउने बाहिर जानुपर्ने मान्छेलाई पनि योजनाभित्र राख्ने भन्नुको मतलब यसको कन्ट्याक्ट राखेर कन्ट्याक्ट ट्रेसिङ गरेर मात्र ल्याउने गर्नुपर्छ।’

ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले दशैंसम्म निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने बताए। चाडपर्वको समयमा मानिसहरुको आवागमन पनि बढ्ने भएकाले त्यसलाई रोक्न अहिलेदेखि नै केही क्षेत्रलाई सञ्चालन गर्न दिँदै जनजीवन सहज बनाई निषेधाज्ञाको अवस्थालाई निरन्तरता दिनुपर्ने बताए।

उनले भने ‘अब हाम्रो अगाडि चाडवाडहरु आइरहेका छन्। दशैंजस्तो ठुलो चाड आएको छ। मानिसहरुको अति ठूलो भावना हुँदो रहेछ। त्यो अहिले हामीले व्यहोरिरहेका छौं। जात्रा, संस्कृति र पर्वहरु भनेपछि बरु ज्यानफाल्न पनि तयार हुँदो रहेछ। दशैंमा पनि त्यस्तो हुन सक्छ। त्यसो भएको हुनाले दशैंसम्म हामीले यसलाई कुनै न कुनै रुपमा अलिकति केही खुकुलो बनाएपनि यो स्थिति कायम गर्नैपर्ने हुन्छ। होइन भने मानिसहरु दशैंमा घर जाने भन्ने हुन्छ, जमानादेखि गरिआएको चिज यो ठूलाबडाको हातबाट टिको थाप्नै पर्ने हुन्छ जे सुकै भएपनि आर्शिवाद लिनुपर्छ भन्ने खालको यो सेन्टीमेन्टमा, यो इमोसनमा झन् भयाभह स्थिति हुनसक्छ। त्यसलाई पनि विचार गरेर यो दशैंसम्म अझै सहजिकरण गर्ने तर यसलाई त्यो बेलासम्म निरन्तरता दिनुपर्छ जस्तो लाग्छ।’

नगरपालिका मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले अहिले उपत्यकामा लागू भएको तेस्रो चरणको निषेधाज्ञा नाम मात्रैको भएको बताए। विहान ११ बजेसम्म सबै पसल खोल्न पाउने, २ बजेदेखि सबै ढुवानी सञ्चालन गर्ने र सडकमा सवारी चलाउन पाउने हो भने निषेधाज्ञा गर्नुको अर्थ नहुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad