राजनीति


उपत्यकामा निषेधाज्ञा थपबारे भाेलि निर्णय हुने, यस्ताे छ तीन सीडीओकाे ब्रिफिङ

उपत्यकामा निषेधाज्ञा थपबारे भाेलि निर्णय हुने, यस्ताे छ तीन सीडीओकाे ब्रिफिङ

उजिर कार्की
भदौ ९, २०७७ मंगलबार १५:५०,

उपत्यकामा निषेधाज्ञा थप गर्ने विषयमा बुधबार मात्रै निर्णय हुने भएको छ।

मंगलबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयमा निषेधाज्ञाको प्रभाव र अबको तयारीबारे (ब्रिफिङ) जानकारी गराएका थिए।

तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीले एक साता लामो निषेधाज्ञा प्रभावकारी भएको र अझै थप्नुपर्ने सुझाव आएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए।

‘उहाँहरुले आफ्नो तयारी बाहिरबाट आएको सुझावबारे कुरा राख्नुभयो, उहाँहरुको आशय थप गर्ने नै छ’, प्रवक्ता बुढाले नेपालखबरसँग भने।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले गृहमन्त्रालयमा छलफल गरेका हुन्।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले यसबारे बुधबार निर्णय गर्ने बताए। ‘बुधबार राति १२ बजेसम्म निषेधाज्ञा जारी छ, त्यसपछि कस्तो हुने भन्ने निर्णय भोलि हुन्छ’, गृहमन्त्रालयसँगको छलफलपछि प्रजिअ दाहालले भने।

मंगलबार अपरान्ह कोरोना संकट व्यवस्थापन जिल्ला समितिमा छलफल पछि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी गृह मन्त्रालय गएका थिए।

गृहमा एकपटक छलफल गरेर अन्तिम निर्णय गर्ने भन्दै डीसीएमसीको बैठक सकिएको थियो।

उनीहरुका अनुसार उपत्यकाका जनप्रतिनिधिले एकसाता निषेधाज्ञा थप गर्न आग्रह गरेका छन्।

भदौ ३ गते राति घोषणा गरिएको निषेधाज्ञा बुधबार राति सकिँदैछ। त्यसअघि नै थप निर्णय गर्ने प्रशासनको तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .