उत्तर कोरियाका शासक किम जोङ उनले सत्तासीन मजदुर पार्टीको अधिवेशन आह्वान गरेका छन्।
उत्तर कोरियाली समाचार संस्था केसीएनएका अनुसार पार्टीका सर्वोच्च नेता किम जोङ उनले केन्द्रीय समितिको पूर्ण बैठकमा अधिवेशन बोलाएका हुन्। जुन अधिवेशन दुर्लभ (हुन मुस्किल) मानिन्छ।
मुलुकका ‘नीतिगत’ कमजोरी तथा संयुक्त राष्ट्र संघको नाकाबन्दीका कारण ‘रुग्ण’ बनेको अर्थव्यवस्था सुधारका लागि नयाँ पञ्चवर्षीय योजना बनाउने उघद्देश्यले उनले अधिवेशन आह्वान गरेको केसीएनले उल्लेख गरेको छ। तर कहिले भन्ने उल्लेख छैन।
पार्टीको केन्द्रीय समितिको बैठकले ‘राष्ट्रिय अर्थतन्त्रको सुधारका लागि गम्भीर ढिलाइ भएको’ निष्कर्ष निकाल्दै उत्तर कोरियाली नागरिकको जीवनस्तरमा ‘उल्लेखनीय’ सुधार नभएको ठहर गरेको प्योङयाङ स्रोतले जनाएको छ।
बैठकमा किमले कोरियाली प्रायद्वीप वरपरको क्षेत्रमा विभिन्न बिषयमा अप्रत्याशित र अपरिहार्य चुनौतीहरु रहेका बताएको केसीएनएले उल्लेख गरेको छ।
प्रतिबन्धित आणविक हतियार र ब्यालिस्टिक मिसाइल कार्यक्रम उत्तर कोरियामा किमको नेतृत्वमा तीव्र पारिएकाे भन्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्, अमेरिका, युरोपेली संघ (ईयू) र अन्य शक्तिले प्योङयाङलाई प्रतिबन्ध लगाएका छन्। एजेन्सी

प्रतिक्रिया