सरकारले विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीका लागि ‘नो अबजेक्सन लेटर’ (एनओसी) नदिँदा सयौं विद्यार्थीको उच्च शिक्षा हासिल गर्ने प्रक्रिया रोकिएको छ।
बेलायत, अमेरिका, जापान, जर्मनी, नेदरल्याण्डलगायत देशका विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गर्न ‘अफर लेटर’ (स्वीकृति पत्र) प्राप्त गरेका विद्यार्थी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘एनओसी लेटर’ जारी नगर्दा भर्ना हुन नपाएका खबर आजको नागरिक दैनिकमा रुबी रौनियारले लेखेकी छन्।
‘सेप्टेम्बर इनटेक’ का लागि भर्ना र भिसा आवेदन गर्न विदेशी विश्वविद्यालयबाट अफर लेटर पाइसके पनि मन्त्रालयले एनओसी लेटर जारी नगर्दा भविष्य नै बिग्रन लागेको गुनासो सम्बन्धित विद्यार्थीको छ।
कलेज भर्नाका लागि विद्यार्थीले बैंकबाट ५० लाख रुपैयाँसम्म ऋण लिएको तर सरकारले एनओसी पत्र नदिँदा आर्थिक, सामाजिक र मानसिक समस्या भोग्नुपरेको विद्यार्थी बताउँछन्।
विदेशी विश्वविद्यालयले कोरोना महामारीमा पनि विद्यार्थी भर्ना रोकेका छैनन्। अमेरिका, अस्ट्रेलिया, जापान, डेनमार्क, जर्मनी, नेदरल्यान्ड, बेलायतलगायत मुलुकका केही विश्वविद्यालयले भर्ना लिएर अनलाइन कक्षा पनि सुरु गरिसकेका छन्। तर सरकारले अहिलेसम्म एनओसी लेटर नदिँदा नेपाली विद्यार्थीको सिट गुम्ने खतरा बढेको छ।
बनेपाकी मोनिका पोटेले दुई वर्ष प्रयास गरेपछि डेनमार्कको एक विश्वविद्यालयमा भर्नाका लागि स्वीकृति पत्र प्राप्त गरेकी छिन्। उनले अध्ययनमा लाग्ने खर्च पनि जुटाएकी छिन्।
तर मन्त्रालयले एनओसी लेटर जारी नगर्दा विश्वविद्यालयमा भर्ना गर्न र भिसाका लागि प्रक्रिया अगाडि बढाउन नसकेको उनले बताइन्। यसले गर्दा उनी मानसिक तनावमा छिन्।
कोरोना महामारीको कारण देखाएर सरकारले एनओसी लेटर नदिँदा ३५ हजार विद्यार्थीको विदेशी विश्वविद्यालयबाट उच्च शिक्षा हासिले गर्ने बाटो रोकिने सम्भावना बढेर गएको छ।
ललितपुरकी सुरेना श्रेष्ठले पनि मन्त्रालयले तत्काल एनओसी लेटर दिएर विदेशी विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गर्ने बाटो खोलिदिनुपर्ने बताइन्।
‘नेदरल्यान्डको इरासमसक विश्वविद्यालयबाट सेप्टेम्बर इनटेकका लागि मलाई स्वीकृति पत्र आइसकेको छ,’ उनले भनिन्, ‘सो विश्वविद्यालयले तयारीका लागि अनलाइन कक्षासमेत सुरु गरिसकेको छ।तर हाम्रो शिक्षा मन्त्रालयले एनओसी लेटर नदिँदा म भर्ना हुन र अनलाइन कक्षा लिनबाट बञ्चित भएकी छु। मजस्ता सयौं विद्यार्थी छन्, जसले विदेशी विश्वविद्यालयलाई भर्ना र अन्य शुल्क बुझाउन बैंकबाट लोन लिएका छन्। लोनको ब्याज तिरिरहेका छन् तर भर्ना हुन पाएका छैनन्।’
शिक्षा मन्त्रालय उच्च शिक्षा महाशाखाका वैदेशिक अध्ययन शाखा प्रमुख दिलनाथ पुरीले विदेशी विश्वविद्यालयबाट अध्ययनका लागि स्वीकृत पत्र पाएर शाखामा एनओसी लिन आउने विद्यार्थीको चाप बढेको बताए। उनले मन्त्रालयले एनओसी जारी गर्न पहल गरिरहेको दाबी गरे।
उनले कोरोना महामारीका करण सरकारले एनओसी रोक्दा ३५ हजार विद्यार्थीको शैक्षिक गतिविधि रोकिएको स्विकारे।
Shares

प्रतिक्रिया