ad ad

राजनीति


पहिरो, कोरोना महामारी र त्रिविबारे देउवाले प्रधानमन्त्रीसामु उठाए यस्ता प्रश्न

पहिरो, कोरोना महामारी र त्रिविबारे देउवाले प्रधानमन्त्रीसामु उठाए यस्ता प्रश्न

नेपालखबर
भदौ १, २०७७ सोमबार ८:२०,

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोमबार भएको छलफलमा बिभिन्न प्रश्न उठाएका छन्।

उनले सरकारले सिन्धुपाल्चोक पहिरोमा वेवास्ता, कोरोना महामारीमा हेलचक्रयाईं र त्रिभुवन विश्वविद्यालयमा पूर्वाग्रहपूर्ण व्यवहार गरिएको आरोप लगाए।

प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका देउवालाई कतिपय संवैधानिक नियुक्तिहरु छलफल गर्न बालुवाटार बोलाएका थिए।

सो छलफलमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सुवास नेम्वाङ थिए भने देउवासँग कांग्रेस नेता रमेश लेखक सहभागी थिए।

‘सभापति देउवाले भेटघाटको शुरुमै जरुरी महत्वका निम्न ३ बिषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो,’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

देउवाले सिन्धुपाल्चोकको जुगलस्थि लिदिका गाउँबासीले १० दिन अघि देखिनै गुहार गर्दा पनि तिनलाई सुरक्षित स्थानमा सार्न सरकारले ध्यान नपु¥याउनु अत्यन्तै दुःखद भएको बताएका थिए।

‘यति गम्भीर गल्तीको जवाफदेहिता सरकारले लिनुपर्छ कि पर्दैन?’ देउवाको भनाइ उद्धृत गर्दै कांग्रेसको वक्तव्यमा भनिएको छ, ‘देशको अन्य विभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति गरेको छ। सरकारको भुमिका सन्तोषजनक देखिएन। ब्यवस्थित र प्रभावकारी ढंगले कार्य गर्न आग्रह गर्दछु।’

उनले कोरोनाबाट मृत्यु हुनेको संख्या १०० नाघेको, संक्रमण तीब्र गतिमा बिस्तार हुँदा बढेको चुनौती सामना गर्नसक्ने ढंगले काम गर्न सरकार समर्थ नदेखिएको समेत दाबी गरेका छन्।

‘कमजोरीको समीक्षा गरेर नयाँ रणनीति निर्माण गर्न र कामको गति बढाउन सरकार किन गम्भीर छैन? आइसोलेसन र भेन्टिलेटर पर्याप्त ब्यवस्था गर्न किन ढिलाइ?’

त्यसैगरी, देउवाले त्रिभुवन विश्वविद्यालयमा देखिएका विवाद र विसंगति उपर कुलपतिका रूपमा प्रधानमन्त्रीको ध्यान पुग्न जरुरी भएको बताएका छन्।

‘निश्चित विधि र संस्कृतिले विश्वविद्यालय चलाउने क्षमता भन्दा राजनैतिक पूर्वाग्रह बढी देखियो। प्रजातन्त्रवादी प्राध्यापक संघको सभापति लगायतलाई मुद्दा लगाउने, राखिएका जायज मागहरुको सुनुवाइ नगर्ने, कीर्तिपुरदेखि ठाकुरराम क्याम्पस सम्मका विद्यार्थीलाई थुनामा राख्ने अनि विविध माग राखेर २६ दिनदेखि पोखरा विश्वविद्यालयमा अनशनमा बसेका

नेविसंघका विद्यार्थीहरुसँग संवाद समेत नगर्ने यस्तो बलमिच्याईं प्रवृत्ति प्राज्ञिक थलो सुहाउँदो छैन,’ उनले भनेका छन्, ‘अविलम्ब संवादबाट समाधानमा पुग्न ढिलाइ नगर्न म प्रधानमन्त्रीजीको ध्यानाकर्षण गराउन चाहन्छु।’

सभापति देउवाले यी बिषयलाई गम्भीरतापूर्वक लिएर काम गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .