राजनीति


कमल थापा भन्छन्ः सत्ताको छिनाझप्टीमा लागेर सत्तारुढ दलले ‘गाईजात्रा’ देखायो

कमल थापा भन्छन्ः सत्ताको छिनाझप्टीमा लागेर सत्तारुढ दलले ‘गाईजात्रा’ देखायो

नेपालखबर
साउन ३०, २०७७ शुक्रबार ११:२०,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दुई तिहाइ बहुमतको सरकारले जनताको विश्वासलाई सदुपयोग गर्न नसकेको बरु उल्टो सत्ताको छिनाझप्टीका कारण ‘गाईजात्रा’ देखाएको बताएका छन्।

पार्टीसम्बद्ध ट्रेड युनियन महासंघ नेपाल (टुकोन)द्वारा प्रकाशित मुखपत्र ‘परिश्रम’ त्रैमासिक बुलेटिनको विमोचन कार्यक्रममा अध्यक्ष थापाले मुलुकका जल्दाबल्दा समस्या समाधान गर्न सरकार पूर्ण रुपमा असफल भएको, जिम्मेवारीबाट च्यूत हुँदै गएको बताएका हुन्।

थापाले मन्त्रीका वरपर बस्ने आसेपासेहरु नै भ्रष्टाचारमा लिप्त भएको भन्दै कोरोना महामारीका बीचमा भएका भ्रष्टाचार अक्षम्य भएको बताए।

सर्वसत्तावाद, भ्रष्टाचार र धर्म परिवर्तन अहिलेको प्रमुख समस्या भएको भन्दै थापाले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस प्रभावहीन देखिएको बताए।

देशका जल्दाबल्दा समस्या समाधानमा सरकारसँग कुनै नीति, योजना र कार्यक्रम नभएको, सरकार निदाएर बसेको तर अवस्था भयावह भन्दै थापाले सरकारको तीखो आलोचना गरे।

यस्तो बेलामा मुलुकमा भरपर्दो र इमानदार शक्तिको आवश्यकता छ, त्यो पूरा गर्न राप्रपा एकता भएको हो भन्दै थापाले एकता भाँड्न, सफल हुन नदिन चलखेल भइराखेका छन्, त्यसलाई चिरेर राप्रपा अघि बढ्ने बताए।

राप्रपा विदेशी शक्तिको चाकरी र इसारामा नचल्ने स्वाभिमानीहरुको राष्ट्रवादी शक्ति भएको समेत स्पष्ट पारे। कोरोनामा महामारीमा पिल्सिएका जनता, उद्योगी, व्यवसायी र मजदुरको हितमा काम गर्न सरकार असफल भएको थापाको टिप्पणी थियो। मजदुरहरुको आवाजलाई बाहिर ल्याउन बुलेटिन प्रकाशित गरिएको संगठनका अध्यक्ष हिक्मतसिंह भण्डारीले बताए। पत्रिकाको सम्पादन कृष्ण खनालले गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad