विवेकशील नेपाली दलको अभियान विभागले काठमाडौंका विभिन्न स्थानमा सचेतनामूलक अभियान तथा मास्क वितरण गरेकाे छ। राजधानीका धेरै भिडभाड हुने ठाउँमा मास्क वितरण गर्दै कोरोनाविरुद्धको सचेतना कार्यक्रम गरेको दलकी नेतृ रजिया बानुले बताइन्।
‘पहिलो दिन र दोस्रो दिन काठमाडौंको चाबहिल गणेश मन्दिर, तरकारी बजार वरिपरि क्षेत्रमा मास्क वितरण तथा कोरोनासँग सम्बन्धित सचेतनामूलक कार्यक्रम गरेका थियौँ’ अभियान विभागकी उपप्रमुख समेत रहेकी नेतृ बानुले भनिन्।
तेस्रो दिन लगनखेल तथा चौँथो दिन आज पाटन क्षेत्रमा कार्यक्रम गरिएको थियो। मास्क वितरण सँगै ‘मास्क लगाउनुहोस् कोरोनाले चिन्ला’, ‘तरकारी लैजानुहोस्, कोरोना नलैजानुहोस्’, ‘कृष्णजीको आशीर्वाद लिनुहोस्, कोरोनाबाट बच्न मास्क लाउनुहोस्’ जस्ता सन्देशहरू उल्लेखित प्लेकार्ड प्रदर्शन समेत गरिएको थियो।
अभियन्ताहरूले तरकारी बजारका पसलेहरूलाई समेत मास्क वितरण गर्ने र प्रयोग गर्न सन्देश दिने गरेका छन्। अत्यधिक भिडभाड हुने क्षेत्रमा मानिसहरू मास्क लगाउन बिर्सिने तथा आफन्त या पसलेसँगको संवादमा मास्क फुकाल्ने गरेकाले ती क्षेत्रहरूमा सचेतना बढाइएको विवेकशील नेपाली दलले जनाएको छ।
महामारीको समयमा देखिएको बेला भ्रष्टाचार, अनियमितता, अव्यवस्था तथा रणनीतिक कमजोरी विरुद्ध आवाज पनि उठाउने र सामाजिक उत्तरदायित्व अनुरूप सामाजिक सचेतना र जागरणमा लाग्ने दलको नीति अनुरूप कार्यक्रम गरिरहेको विवेकशीलका अध्यक्ष मिलन पाण्डेले बताए।

प्रतिक्रिया