राजनीति


सीमा समस्याप्रति सरकार गम्भीर नभएको सांसदहरुको आरोप

सीमा समस्याप्रति सरकार गम्भीर नभएको सांसदहरुको आरोप

नेपालखबर
साउन २८, २०७७ बुधबार १३:२३,

सांसदहरुले नेपालको अद्यावधिक नक्सा जारी गरेपनि सरकारले वास्तविक सीमा समस्या समाधानका लागि गम्भीरता नदेखाएको आरोप लगाएका छन्।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा बुधबार भएको छलफलमा सांसदहरुले भारतसँगको वास्तविक सीमा समस्या समाधानका लागि सरकारले गम्भीरता नदेखाएको आरोप लगाएका हुन्।

स्ट्रिप नक्साको बलमा भारतले कञ्चनपुर जिल्लामा नेपालीले भोगचलन गर्दै आएको भूमि अतिक्रमण गरेको विषयमा भएको छलफलमा सांसदहरुले यस्तो आरोप लगाएका हुन्।

सांसद देवेन्द्रराज कँडेलले जारी भएको नयाँ नेपालको नक्सामा कञ्चनपुरको अतिक्रमित भूमि समेटिएको छ की छैन भन्ने प्रश्न गरे। द्वन्द्वकालमा नेपाली टोली समेत भारतमा गएर जारी गरेको नक्साका कारण समस्या उत्पन्न भएको देखिएकोले गम्भीरता देखाएर यो विषयमा अध्ययन गर्नुपर्ने उनले बताए।

सांसद रामसहाय प्रसाद यादवले सीमा सम्बन्धी बास्तविक काम कति सम्पन्न भयो भन्ने तथ्याङ्क सम्बन्धित मन्त्रालय लगायत सरोकारलाहरुसँग छ की छैन भन्ने आशंका व्यक्त गरे। उनले नक्सा जारी भएपनि सीमा समस्या समाधानका लागि सरकार तयार नभएको बताए।

सांसद नरबहादुर धामीले सीमा रक्षाका क्रममा गोविन्द गौतमको हत्या भएको घटनामा अनुगमन गर्न चुकेको सरकार जग्गाधनी पुर्जा समेतको भूमि भारततर्फ जाँदा पनि गम्भीर नभएको बताए। नेपाल भित्र हतियारसहित भारतीय सुरक्षाकर्मी प्रवेश गरेर जनतालाई आतंकित बनाउने गरेको कुरा पटक पटक संसदमा उठाउँदा पनि सरकारले वास्ता नगरेको उनले बताए।

सांसद रेखा शर्माले दिर्घकालिन रुपमा सीमा समस्या समाधान गर्ने बाटो तर्फ सरकार अग्रसर हुनुपर्ने बताइन्। उनले द्वन्द्वकालिन समयमा सीमा निर्धारण टोलीमा को को थिए भन्ने पत्ता लगाएर समितिमै बोलाउनुपर्ने बताइन्।

बैठकमा भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले अद्यावधिक नक्सामा कञ्चनपुरको अतिक्रमित भूमि पनि समेटिएको बताइन्। स्ट्रिप नक्सा दुई देशको सहमतिमा खारेज हुने प्रावधान रहेको उल्लेख गर्दै भारतको केही भूमि नेपाल तर्फ समेत रहेको बताइन्।

बैठकमा कोभिड—१९ का सन्दर्भमा पनि छलफल भएको थियो। प्रतिपक्षी दलका सांसदहरुले कोरोना भाइरस रोकथामका लागि सरकारले काम गर्न नसकेको बताएका थिए। स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरुप्रति गरेको टिप्पणीप्रति सांसदहरुले आपत्ति व्यक्त गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad