राजनीति


महाधिवेशनअघि नै पद बाँडफाँट र कार्यदिशामा सहमति गर्ने प्रचण्ड-नेपालको तयारी

महाधिवेशनअघि नै पद बाँडफाँट र कार्यदिशामा सहमति गर्ने प्रचण्ड-नेपालको तयारी

सागर न्यौपाने
साउन ८, २०७७ बिहिबार १५:४९,

प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट नेकपाका शीर्ष नेताहरुले महाधिवेशनमा जानुअघि नै आपसमा वैचारिक कार्यदिशा र पद बाँडफाँटको सहमति गर्ने प्रयास थालेका छन्।

अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसहित बहुमत स्थायी कमिटीका नेताहरुबीच महाधिवेशनमा जाँदा लैजाने वैचारिक दस्तावेजका विषयमा तीव्र छलफल भइरहेको नेताहरुले जनाएका छन्।

उनीहरुबीचमा आपसी शक्ति बाँडफाँटदेखि वैचारिक लाइनमा समेत सहमति गरेर अघि बढ्ने प्रयास तीव्र भएको प्रचण्ड–नेपाल पक्षीय नेतालहरुले जानकारी दिए।

हाल नेकपाले मार्गनिर्देशक सिद्धान्तका रुपमा ‘जनताको जनवाद’ लाई अंगीकार गरेको छ। तर, पूर्वएमालेका केही नेताहरु मदन भण्डारीसिर्जित जनताको बहुदलीय जनवादलाई छाड्न नहुने विचार व्यक्त गर्दै आएका छन्।

प्रचण्डले साउन ५ गते खुमलटारमा र नेता नेपालले ६ गते कोटेश्वरमा आफूपक्षीय नेताहरुसँग यसै विषयमा केन्द्रित रहेर छलफल गरेका थिए।

प्रधानमन्त्री ओलीले शनिबार बसेको सचिवालय बैठकमा राजीनामाको बदला छिटो महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए। चाँडै महाधिवेसन गरेर भएपनि ओलीलाई हटाउन प्रचण्ड, नेपाल र खनाल सहमत भएका छन्।

पार्टीले अंगीकार गर्ने वैचारिक लाइनमा सहमति जुटेपछि प्रचण्ड–नेपाल पक्षले पद बाँडफाँटका विषयमा पनि सहमति जुटाउने नेताहरु बताउँछन्।

संक्रमणकालका लागि नेकपामा दुईजना अध्यक्ष रहने व्यवस्था गरिएको छ। महाधिवेशन भयो भने दुई अध्यक्षको प्रावधान हटाइने सम्भावना छ।

यस्तो अवस्थामा प्रचण्ड र नेपालबीच एक जना अध्यक्ष र अर्काे निर्वाचन जितेको खण्डमा प्रधानमन्त्री बन्ने गरी समझदारी बन्नेछ। त्यतिमात्रै होइन खनाल, गौतम, श्रेष्ठको जिम्मेवारीमा पनि सहमति जुटाउनेछ।

‘हामी वैचारिक रुपले पनि एक भएर महाधिवेशनमा जाने र दीर्घकालीन रुपमै एकतालाई जोगाउने कुरामा हामी सहमत छौँ,’ नेपालनिकट एक स्थायी समिति सदस्यले बताए, ‘पद पनि बाँडफाँट हुन्छ।’

प्रचण्डनिकट नेताहरु पनि पार्टीको वैचारिक पक्षका विषयमा नेपालसहितका नेताहरुसँग सहमति हुने बताउँछन्।

‘नेकपालाई वैचारिक रुपमा प्रस्ट पार्टी बनाएर जनतामा जानुपर्छ,’ स्थायी समिति सदस्य मातृका यादवले भने, ‘समाजवाद उन्मुख जनताको जनवादमा कटिबद्ध हुने कुरालाई प्राथमिकता दिँदै पार्टीको विधि र विधानमा हिँड्न लगभग एकमत छौँ।’

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली पार्टी र सरकार सञ्चालन गर्न असफल भएको भन्दै प्रचण्ड–नेपाल पक्षले उनको राजीनामा माग गरेका थिए। त्यसपछि अहिले ओलीले राजीनामा नदिने बरु महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका थिए।

यस विषयमा साउन ५ गते खुमलटारमा प्रचण्ड, खनाल र नेपालबीच छलफल भएको थियो।

छलफलमा सहभागी एक नेताका अनुसार सो छलफलमा महाधिवेशनमा मिलेर जाने र विचार पनि सहमतिमै तय गर्ने समझदारी गरिएको छ।

प्रधानमन्त्री ओलीले जनताको बहुदलीय जनवादलाई सिद्धान्त मान्नुपर्ने प्रस्ताव प्रचण्डलाई राखेका थिए। सो प्रस्तावलाई प्रचण्डले अस्वीकार गरेका थिए।

प्रचण्ड र नेपालबीच गठबन्धन भए त्यो निर्णायक बन्नेछ। यद्यपि, प्रचण्ड पार्टी एकता गर्दाका मुख्य व्यक्ति ओलीलाई छोडिहाल्दा त्यसले पार्ने असर विश्लेषण गरिरहेका छन्।

पार्टीलाई नीति र विधिले चलाउनुपर्छ भन्ने आवाज उठाउँदै आएको नेपाल पक्षपनि प्रचण्डलाई साथ लिएर नेतृत्व हात पार्ने योजनामा रहेको देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad