राजनीति


नेकपा सचिवालय बैठक आज

नेकपा सचिवालय बैठक आज

नेपालखबर
साउन ३, २०७७ शनिबार ३:११,

सत्तारुढ नेकपाको सचिवालय बैठक आज (शनिबार) बस्दै छ। दिउँसो तीन बजे प्रधानमन्त्री निवास बालुवाटरमा बैठक बस्न लागेको हो।

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सचिवालय बैठक दिउँसो तीन बजे बालुवाटारमा बस्ने जानकारी दिए। ‘बैठक स्थगित भएको सूचना आएको छैन, आज दिउँसो तीन बजे बैठक बस्ने मैले पनि सुनेको छु,’ शनिबार बिहान थापाले नेपालखबरसँग भने।

आज बस्ने सचिवालय बैठकमा नेकपामा चुलिएको विवादका विषयमा छलफल हुने नेकपा स्रोतले जनाएको छ।

नेकपाले जारी स्थायी समिति बैठक ४ साउनसम्मको लागि स्थगित गरेर सचिवालय बैठक बोलाएको हो। शुक्रबार ओली र प्रचण्डबीच भएको छलफलमा स्थायी कमिटी बैठक स्थगित गरेर सचिवालय बैठक बोलाउने सहमति भएको थियो।

गएको १० असारबाट सुरु भएको नेकपा स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीको राजीनामाको विषय जोडदार रुपमा उठेपछि नेकपा फुटको संघारमा पुगेको अड्कल काट्न थालिएको छ।

स्थायी समितिका अधिकांश सदस्यले दुबै पदबाट ओलीले राजीनामा दिनुपर्ने धारणा राखेका छन्। त्यसबाट रुष्ट बनेका ओलीले स्थायी समिति बैठकलाई पर धकेल्दै लगेका छन्। २ साउनको लागि बोलाइएको स्थायी समित बैठक पनि बस्दै नबसी ४ साउनको लागि सारिएको छ।

सहमतिका लागि भन्दै यसअघि असार २०, २२, २४ र २६ गतेका लागि बोलाइएको बैठक पनि स्थगित गरिएको थियो। बैठक स्थगित गरेर अध्यक्षद्वयबीच पटकपटक छलफल भए पनि अहिलेसम्म कुनै सहमति हुन सकेको छैन। ओली दुबै पद नछाड्ने अडानमा यथावत छन्।

विवाद उत्कर्षमा पुगेपछि शीर्ष नेताहरुबीच दुई पक्षीय र त्रिपक्षीय छलफल धेरै भए। तर पनि नेकपामा देखिएको विवाद समाधानको सुत्र अझै फेला परेको छैन। आजको सचिवालय बैठकपछि आइतबार दिउँसो चार बजे स्थायी कमिटी बैठक बस्ने नेकपाका नेताहरुले बताएका छन्।

अध्यक्ष ओली पार्टीको स्थायी समितिमा अल्पमतमा छन्। सचिवालयमा पनि उनी बहुमतमा छैनन्। गृहमन्त्रीसमेत रहेका रामबहादुर थापाले साथ छाडेपछि उनी सचिवालयमा पनि अल्पमतमा परेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad