भारत र चीनका सेना सीमाबाट पछि हटेको भन्ने खबरबीच चीनको प्रतिक्रिया आएको छ। चीनले दुई देशबीच सीमामा जारी तनाव कम गर्ने दिशामा अघि बढेको बताउको छ। तर उसको सेना सीमाबाट पछि हटेको हो कि होइन स्पष्ट पारेको छैन।
समाचार एजेन्सी रोयटर्सले चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजिआनलाई सोधेको छ, ‘भारतीय सञ्चारमाध्यमका अनुसार चीनको गलवान उपत्यका, जहाँ दुई देशका सेनाबीच झडप भएको थियो, त्यहाँबाट दुवै देशका सेना आफ्ना उपकरण तथा टेन्ट हटाएर पछि हटेका छन्। यो कुरा हो त?’
जवाफमा चिनियाँ विदेश मन्त्री चाओले भनेका छन्, ‘चीन र भारतका सेनाबीच गत जुन ३० तारिख कमान्डरस्तरको तेस्रो वार्ता सम्पन्न भयो। जसमा दुवै पक्षबीच पछिल्लो चरणमा भएका कमान्डरस्तरीय दुई वार्तामा भएका सहमति पालना गर्दै सीमामा जारी विवाद कम गर्ने सहमतिबमोजिम महत्वपूर्ण कदम चालेका हौं। हामीलाई विश्वास छ– भारतले पनि सीमाबाट उति नै दूरी कायम गर्छ र सहमित कार्यान्वयनका लागि कडा कदम चाल्नेछ। चीनका तर्फबाट तनाव कम गर्ने काम जारी रहनेछ।’
रोयटर्सका अनुसार सोमबारको कदमले भारत–चीन सीमाको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारत र चीनबीच तनाव कम गर्न चालिएको कदम महत्वपूर्ण तर छ।
तर यसले सेनाको सतर्कता, उनीहरूले गरेको तयारी र लामो समयदेखि लद्दाखको पहाडी क्षेत्रमा भइरहेका तयारीमा खासै असर पार्ने छैन।
विज्ञका अनुसार सीमाको नयाँ वास्तविकता स्वीकार गर्न दुवै पक्षका सेना तयार रहन आवश्यक छ। जहाँ दशकौंदेखि हिंसात्मक झडप भइरहेका छन्। बीबीसी

प्रतिक्रिया