राजनीति


खुमलटार बैठकको निष्कर्षः पार्टी एकता निम्ति अन्तिम कोसिस गर्ने, स्थायी समिति नरोक्ने

खुमलटार बैठकको निष्कर्षः पार्टी एकता निम्ति अन्तिम कोसिस गर्ने, स्थायी समिति नरोक्ने

सागर न्यौपाने
असार २०, २०७७ शनिबार १५:५४,

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको सचिवालयका ६ जना सदस्यहरूको बैठकले ‘पार्टी एकता निम्ति अन्तिम कोसिस गर्ने’ निष्कर्ष निकालेको छ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली शनिबार साँझ शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्शमा रहेका बेला खुमलटारमा बहुमत नेताहरूको छुट्टै बैठक बसेको हो।

शितलनिवासबाट बालुवाटार फर्केर मन्त्रीपरिषदको आकस्मिक तर अनौपचारिक बैठक राखेका प्रधानमन्त्री ओलीले ‘ठूलो षडयन्त्र’ भइरहेको भन्दै ‘राष्ट्रपतिलाई महाअभियोग लगाउने’ र आफुलाई ‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट हटाउने तयारी भएको’ बताएका थिए।

प्रधानमन्त्री ओलीको भनाई उधृत गर्दै एक मन्त्रीले भने, ‘हुल्लडहरुको समूह स्थायी कमिटीले गरेको निर्णय म मान्दिनँ। स्थिति एकदम जटिल छ, हरेकले निर्णय गर्नुपर्ने बेला आएको छ।’

बालुवाटारमा मन्त्रीपरिषदको अनौपचारिक बैठकमा सहभागी भएर निस्केका केही मन्त्रीहरूले सिधै खुमलटार पुगेर यसबारे ब्रिफिङ गरेको बुझिएको छ।

ओलीले ‘बाइ फोर्स कदम चाल्दै छु, तपाईंहरु कता लाग्ने हो निर्धारण गर्नुस्’ भनेर मन्त्रीहरूलाई आफ्नो कित्ता छुट्टयाउन निर्देशन दिएका छन्। तर उनले कस्तो ‘बाइ फोर्स’ कदम चाल्न लागेको हो भन्ने खुलाएका छैनन्। राष्ट्रपतिसँग भेटेर आकस्मिक रुपमा मन्त्रीपरिषद बैठक डाकेका ओलीले फेरि पार्टी विभाजनको बाटो खोल्ने गरी अध्यादेश ल्याउन सक्ने अनुमान गरिएको थियो।

खुमलटारमा बसेको नेकपा सचिवालयका बहुमत सदस्यहरूको बैठकले भने केही दिनयता जारी स्थायी समिति बैठक नरोक्ने निष्कर्ष पनि निकालेको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड–माधव नेपाल समूहबीच टकराव बढेपछि स्थायी समिति बैठक पटक पटक रोकिँदै आएको छ।

पछिल्लो पटक शनिबारका लागि तय गरिएको बैठक सोमबारसम्मका लागि स्थगित भएको थियो।

माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा सहभागी बैठकमा प्रचण्डले भोली आइतबार बिहान १० बजे ओलीसँग भेटवार्ता हुने जानकारी गराएका छन्।

खुमलटार बैठकमा सहभागी सचिवालयका एक जना सदस्यका अनुसार ‘पार्टी एकताका लागि अन्तिम कोसिस गर्ने समझदारी नेताहरूबीच भएको छ।’

‘भोलि १० बजेमात्र केपी कमरेडले समय दिनुभएको छ, पार्टी फुट्न नदिन अन्तिमसम्म प्रयास गरिने छ’, बैठकमा अध्यक्ष प्रचण्डको भनाइ उधृत गर्दै सचिवालयका ती नेताले भने।

खुमलटार बैठकमा उपाध्यक्ष वामदेव गौतमले बालुवाटारले आफुलाई फकाउन खोजिरहेको ब्रिफिङ गरेका थिए।

‘हिजो राती बालुवाटारबाट ओलीका एक हुल मान्छे म कहाँ आएका थिए, मिलेर जाउँ भन्दै उनीहरूले विभिन्न आश्वासन दिए’, गौतमले बैठकमा भने।

गौतमलाई फेरि फकाउने प्रयास अन्तर्गत प्रधानमन्त्री ओली पक्षका दर्जन बढी नेताहरू शुक्रबार राती भैंसेपाटी पुगेर पार्टी अध्यक्ष बनिदिन प्रस्ताव राखेको चर्चा भइरहेको छ।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad