प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा बोलाएको परामर्श बैठकमा मन्त्रीहरुले ‘अहिलेको परिस्थितिमा बाहिरी र बनावटी कुराहरु सुनेर कुनै कदम नचाल्न’ आग्रह गरेका छन्।
सहभागीमध्ये कृषि मन्त्री घनश्याम भुसालले अहिले केहि स्वार्थ समूहले परिस्थितिलाई थप उत्तेजित बनाएर आफ्नो स्वार्थ पूरा गर्न लागेकोतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्।
उनले अहिले नेकपाको परिस्थितिलाई प्रथम विश्वयुद्धका बेला सक्रिय एक व्यापारिक स्वार्थ समूहसँग तुलना गर्दै प्रधानमन्त्रीलाई बुझाउन खोजे।
‘प्रथम विश्वयुद्धताका एउटा व्यापारिक स्वार्थ समूह थियो, जसले पोष्टर छाप्थ्यो र युद्धका दुवै पक्षलाई बेच्थ्यो,’ मन्त्री भुसालको भनाइ उद्धृत गर्दै एक सहभागीले भने, ‘फ्रेन्च हत्यारा हुन् भन्ने पोस्टर पनि त्यहि समूहले छाप्थ्यो, जर्मन हत्यारा हुन् भन्ने पोष्टर पनि उसैले छापेर बेच्थ्यो।’
अहिलेको नेकपाको विवादमा पनि स्वार्थ समूहले ‘फेब्रिकेटेड’ (बनावटी) कुराहरु ल्याएर भाँजो हालिरहेको उनले बताए।
स्वार्थ समूहका बनावटी कुराबारे आफूसँग प्रमाण भएको दाबी मन्त्री भुसालले प्रधानमन्त्रीलाई जानकारी दिए।
त्यस्ता समूहको प्रभावमा नपरी विवादलाई आपसी छलफलबाट सुल्झाउन सकिने उनको भनाइ थियो।
उर्जामन्त्री वर्षमान पुनले पनि पार्टीको विवादलाई संसदीय दल वा पार्टी कमिटीमा छलफल गरेर विधिवत् रुपमा सल्टाउनु पर्ने बताए।
‘संसदीय दल छ, पार्टी कमिटी छन्, त्यहाँ छलफल गरेर समाधान निकाल्न सकिन्छ’, मन्त्री पुनले प्रधानमन्त्री ओलीलाई सुझाव दिँदै भने, ‘हामी निर्वाचित जनप्रतिनिधि हौं। छलफल गरेरै विषय सल्टाउन सकिन्छ।’
याे पनि: प्रधानमन्त्रीले मन्त्रीहरुलाई भने : म बाइफोर्स स्टेप चाल्दैछु, तपाईंहरु कता लाग्ने निर्णय गर्नुस्
Shares

प्रतिक्रिया