इङलिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति सम्पन्न खेलमा म्यानचेस्टर यूनाइटेडले बोर्नमाउथमाथि ५-२ गोलअन्तरको जित हात पारेको छ।
किशोर खेलाडी मासुन ग्रिनवुडले दुई सानदार गोल गरेपछि जितसहित यूनाइटेड लिगको चौथो स्थानमा उक्लिएको छ।
खेलमा अग्रता भने बेर्नामाउथले लिएको थियो। जुनियर स्टानिस्लासले १५औं मिनेटमा बेर्नामाउथका लागि पहिलो गोल गरेका थिए।
१८ वर्षे ग्रिनवुडले २९औं मिनेटमा बराबरी गोल फर्काए। त्यसको ६ मिनेटमा मार्कुस रासफोर्डले पेनाल्टीमार्फत यूनाइटेडको अग्रता दोब्बर पारे।
पहिलो हाफको इन्जुरी समयमा एन्थोनी मार्सियलले गोल गरेपछि यूनाइटेड ३-१ ले अघि रहेको थियो।
दोस्रो हाफको सुरुवातमै जोसुवा किङले पेनाल्टीमार्फत गोल गर्दै यूनाइटेडको अग्रता ३-२ मा झारे।
५४औं मिनेटमा ग्रिनवुडले व्यक्तिगत दोस्रो गोल गर्दै यूनाइटेडको अग्रता फराकिलो बनाए। ५ मिनेटपनि नबित्दै ब्रुनो फर्नान्डेजले गोल गरेपछि यूनाइटेड ५-२ ले विजयी रह्यो।

प्रतिक्रिया