चीन र भारतबीचको सीमा विवाद जारी रहँदा भारतले चिनियाँ एप्लिकेसनहरु भारतको सुरक्षामा खतरा पुर्याउनसक्ने खालको भएको ठहर गरेको छ।
सोमबार मात्र भारतले टिकटक, विच्याटसहित ५९ वटा चिनियाँ एप्लिकेसन प्रतिबन्ध गर्ने निर्णय गरेको हो।
आफ्नो एप प्रतिबन्ध भएपछि बाइटडान्स कम्पनीले टिकटक भारतीय कानुन बमोजिक संचालित भएको र यस कम्पनीले कुनैपनि सरकारलाई प्रयोगकर्ताको विवरण नबुझाउने प्रस्ट गरेको छ।
यसबीचमा चीन सरकारले पनि चिनियाँ एप्स प्रतिबन्ध भएको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।
मंगलबार चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता झाओ लिजियानले भनेका छन्,‘हामी जोड दिन चाहन्छौं कि चिनियाँ सरकारले जहिले पनि चिनियाँ व्यवसायहरुलाई अन्तर्राष्ट्रिय र स्थानीय कानूनको पालना गर्न आग्रह गर्दछ।’
झाओ लिजियानले आफ्नो देशको कुनैपनि कम्पनीको प्रयोगकर्ताको डेटाको बारेमा चीन सरकारलाई चासो नभएको उल्लेख गरे।
यसैबीच चिनियाँ एप्स बन्द गरेसँगै चिनियाँ कम्युनिष्ट पार्टीद्वारा संचालित पत्रिका ग्लोबल टाइम्समा लेखिएको छ,‘दुई देशबीच सीमा विवाद बढिरहेको समयमा भारतले पछिल्लो कदम चालेको छ। दुईहप्ता अगाडि भारतीय सैनिकले सीमा पार गरेर चिनियाँ सेनामाथि आक्रमण गरेपछि हिंस्रक झडप भएको थियो। त्यसयता भारतमा उग्र–राष्ट्रवाद देखिन थालेको छ। उनीहरुले चिनियाँ उत्पादन बहिष्कारको माग गरिरहेका छन्।’ एजेन्सी

प्रतिक्रिया