राजनीति


धान दिवसमा प्रधानमन्त्रीको सन्देश : कृषि उत्पादन वृद्धि गरौँ, कोरोनाको असर कम हुन्छ

धान दिवसमा प्रधानमन्त्रीको सन्देश : कृषि उत्पादन वृद्धि गरौँ, कोरोनाको असर कम हुन्छ

नेपालखबर
असार १५, २०७७ सोमबार ४:४०,

प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि उत्पादन वृद्धि भए कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको नकारात्मक असर कम गर्न सकिने बताएका छन्।

१७ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव (१५ असार) का अवसरमा सोमबार सन्देश दिँदै प्रधानमन्त्री ओलीले अधिकांश नेपालीको जीविकासँग जोडिएको र राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रूपमा रहेको कृषि उत्पादन बृद्धि गर्न सके कोरोनाको असर कम हुने बताएका हुन्।

सदुपयोगको सिद्धान्तअनुसार जमीन खेर नफाल्ने, बाँझो नराख्ने तथा अत्यधिक उत्पादन र प्रतिफल दिने गरी खेती गर्न उनको सुझाब छ। ‘माटो र बालीको बीचमा तादात्म्यता मिलाएर उत्पादन वृद्धिमा केन्द्रित हुन जरुरी छ,’ सन्देशमा भनिएको छ, ‘यसका निम्ति सबै ठाउँमा धान बाली नै लगाउनुपर्छ भन्ने छैन, धान लगाएर बढी प्रतिफल लिन सकिने ठाउँमा धान लगाउने र अरु प्रकारका जमीनमा अन्य जुनसुकै बाली लगाए पनि हुन्छ, तर त्यस बालीले अधिक उत्पादन भने दिनै पर्छ।’

‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने उद्घोेषका साथ आज धान दिवस मनाइँदै छ। ओलीले धान उत्पादनमा वृद्धि गरी खाद्यान्नमा आत्मनिर्भरतातर्फको हाम्रो राष्ट्रिय गन्तव्यलाई सार्थक बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले नागरिकको आधारभूत खाद्य सुरक्षाको प्रत्याभूति गर्नु लोककल्याणकारी राज्यको दायित्व भएको र सोहीअनुरुप संविधानमा खाद्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा व्यवस्था गरिएको जानकारी दिँदै यस हकको कार्यान्वयन गर्न खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन, २०७५ जारी भइसकेको उल्लेख गरेका छन्।

‘ऐनले हरेक नागरिकको खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य सम्प्रभुतालाई कानूनी अधिकारका रूपमा स्थापित गरेको र भोकमरीको अन्त्य गर्नेलगायत दिगो विकासका लक्ष्य हासिल गर्न अन्तर्राष्ट्रिय प्रतिबद्धता र कृषि विकास रणनीतिको कार्यान्वयनमार्फत खाद्य र पोषण सुरक्षाको अवस्थामा सुधार ल्याउने हाम्रो राष्ट्रिय प्रतिबद्धता पनि सुस्पष्ट छ,’ प्रधानमन्त्रीको सन्देशमा भनिएको छ।

‘परापूर्वकालदेखि नै नेपाली समाजमा धानको आर्थिक, सामाजिक र सांस्कृतिक महत्व रहँदै आएको पाइन्छ। अधिकांश नेपालीको आधारभूत खाद्य वस्तुको स्रोतका रूपमा रहेको धानको खाद्य सुरक्षाको दृष्टिले रणनीतिक महत्व रहेको छ। राष्ट्रिय अर्थतन्त्रमा समेत धानको महत्वपूर्ण योगदान रहिआएको छ,’ प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘हाम्रो जीवन चक्रका सोह्र संस्कारमा धान, चामल र यसबाट बन्ने परिकारको प्रयोग र प्रचलनको निकै लामो र समृद्ध परम्परा रहिआएको छ । यसरी हाम्रो जीवन पद्धतिसँग धानको घनिष्ठ सम्बन्ध कायम रहेको स्पष्ट छ।’

सन्देशमा पछिल्ला केही वर्षहरुमा जनसङ्ख्या वृद्धिका साथै जनताको आर्थिक अवस्थामा सुधार आई दुवै छाक भात खाने प्रचलन र मसिनो चामलको उपभोगमा भएको वृद्धिले समेत धान चामलको मागमा तीव्र वृद्धि हुँदै आएको तर मागअनुसारको आन्तरिक उत्पादन नहुँदा बर्सेनि ठूलो धनराशि धान चामल आयातमा खर्चिनुपरेको उल्लेख छ।

‘यसले मुलुकको परनिर्भरता समेत बढाएको छ । यसै तथ्यलाई दृष्टिगत गरी नेपाल सरकारले प्रमुख खाद्यान्न बालीका पमा रहेको धानको उत्पादन वृद्धि गरी देशमा दीगो खाद्य सुरक्षा कायम गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेर नीति तथा योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याएको छ,’ सन्देशमा अगाडि भनिएको छ, ‘सिँचाइ सुविधा विस्तार, धान बालीको अनुसन्धान र विकास, सहुलियत दरमा गुणस्तरीय बीउ तथा मलखादको व्यवस्था, प्रविधि विस्तार र किसानलाई प्राविधिक सहायता एवं ज्ञान उपलब्ध गराउने, सार्वजनिक वितरण प्रणालीमा सुधार गर्ने, न्यूनतम समर्थन मूल्यको घोषणा र कार्यान्वयन गर्नेजस्ता विषयमा वर्तमान सरकारले जोड दिँदै आएको छ । तथापि देशमा दिगो खाद्य सुरक्षा र आत्मनिर्भरता कायम गर्न तीनवटै तहका सरकारको समन्वयात्मक र एकीकृत प्रयास हुनुपर्ने आवश्यकता रहन्छ।’

संविधानले कृषि तथा खाद्य सुरक्षासम्बन्धी विषयमा प्रदेश सरकार र स्थानीय तहलाई बढी जिम्मेवार बनाएको सन्दर्भमा नेपाल सरकारले लिएका नीतिहरुको सफल कार्यान्वयनका लागि सहकार्य गर्दै अघि बढ्न उनले प्रदेश सरकारहरु र स्थानीय तहहरुलाई आह्वान गरेका छन्।

कृषि क्षेत्रको विकास र वृद्धि नै हालका लागि ‘समृद्ध नेपाल, सुखी नेपाली’ को हाम्रो राष्ट्रिय आकांक्षा हासिल गर्ने मूल आधार भएको उल्लेख गर्दै सन्देशमा प्रधानमन्त्री ओलीले त्यसका लागि कृषिको आधुनिकीकरण, व्यावसायिकीकरण र यान्त्रिकीकरण आवश्यक भएकामा जोड दिएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad