राजनीति


१४ औँ महाधिवेशनको कार्यतालिकाबारे कांग्रेसमा छलफल सुरु

१४ औँ महाधिवेशनको कार्यतालिकाबारे कांग्रेसमा छलफल सुरु

नेपालखबर
असार १४, २०७७ आइतबार ८:५७,

नेपाली कांग्रेसले कोभिड–१९ को संक्रमणका कारण प्रभावित भएको पार्टीको १४औँ महाधिवेशन तालिका अघि बढाउने विषयमा छलफल गर्ने भएको छ।

कांग्रेस केन्द्रीय कार्यालयमा आज बस्ने पदाधिकारी बैठकमा कोरोनाका कारण प्रभावित भएको १४औँ महाधिवेशनको कार्यतालिका अघि बढाउने बारेमा छलफल हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। यसबाहेक कोरोना रोकथाम र उपचारमा थप प्रभावकारी काम गर्न सरकारलाई दबाब दिने बारेमा समेत छलफल हुने बताइएको छ ।

कांग्रेसले गत माघ १३ गतेको केन्द्रीय समिति बैठकबाट पार्टीका मातहत निकायका अधिवेशन र १४औँ महाधिवेशन सम्पन्न गर्न कार्यतालिका सार्वजनिक गरेको थियो। सो तालिकाअनुसार गत २०७६ फागुनदेखि २०७६ चैतसम्म पार्टीको क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि तोकेको थियो। उक्त कार्यतालिकाअनुसार जिल्लामा क्रियाशील सदस्यता फाराम पु-याउने काम भए पनि कोरोनाका कारण वितरण र नवीकरण कार्य भने प्रभावित भएको थियो।

कांग्रेसले १४औँ महाधिवेशनका लागि गाउँ/नगर वडा अधिवेशन अगामी २०७७ कात्तिक १६, गाउँ/नगरपालिका अधिवेशन कात्तिक १८, प्रदेशसभा क्षेत्रीय अधिवेशन २०७७ कात्तिक २१ र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २०७७ कात्तिक २३ गतेका लागि निर्धारण गरेको छ।

यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २०७७ कात्तिक २५, प्रदेश अधिवेशन २०७७ मंसिर २९ र केन्द्रीय महाधिवेशन २०७७ फागुन ७, ८, ९ र १० गते काठमाडौंमा गर्ने तालिका सार्वजनिक गरिएको थियो। केन्द्रीय महाधिवेशन निर्धारित मितिमै गर्ने गरी कोरोनाका कारण प्रभाावित हुने अन्य अधिवेशन तालिका हेरफेर गर्नेबारे छलफल हुने मुख्य सचिव पौडेलले बताए।

कांग्रेसको १३औँ महाधिवेशन विसं २०७२ फागुन २० देखि २३ गते सम्ममा काठमाडौंमा सम्पन्न भएको थियो। पार्टीको विधानमा सबै तहका पदाधिकारी तथा सदस्यहरूको पदावधि चार वर्षको हुने उल्लेख छ। साथै विधानले असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्ष सम्मको अवधि बढाउन सक्ने व्यवस्थासमेत गरेको छ। सोही व्यवस्थाअनुसार कांग्रेसले गत पुस ११ गते पार्टीको वर्तमान सबै तहका पदाधिकारी तथा सदस्यहरूको पदावधि एक वर्ष थप गर्नेलगायत निर्णय गरेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad