सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।
शुक्रबार दोस्रो दिनको बैठकमा अनुपस्थित रहेका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली आजको बैठकमा भने सहभागी भएका छन्।
प्रधानमन्त्री ओलीका प्रेस विज्ञ रामशरण बजगाईंंले प्रधानमन्त्री ओली बैठकमा सहभागी भएको जानकारी दिए।
‘प्रधानमन्त्रीज्यु बैठकमै हुनुहुन्छ’, नेपालखबरसँग कुरा गर्दै बजगाईंले भने ।

शुक्रबारको बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित भएपछि नेताहरुको बोल्ने कार्यसूची नै परिवर्तन गरिएको थियो।
प्रधानमन्त्री ओली नै अनुपस्थित भएपछि सचिवालयका सदस्यहरुले बोल्ने कार्यसूची परिवर्तन गरेर स्थायी कमिटी सदस्यहरुलाई बोल्न दिइएको थियो।
बैठकमा बोल्ने अधिकांश सदस्यहरुले प्रधानमन्त्री एवं अध्यक्ष नै बैठकमा अनुपस्थित हुन दुखद् भएको भन्दै प्रधानमन्त्रीको चर्को आलोचना गरेका थिए।
तर शनिबारको बैठकमा सहभागी भएका प्रधानमन्त्री ओली लामो समय नबसी केही बेरमा नै बैठकबाट बाहिरिएको एक नेताले बताए।
‘प्रधानमन्त्री बैठकमा आउनु भएको थियो, झण्डै ४० मिनेटजति बसेर फर्कंनुभयो’, ती नेताले नेपालखबरसँग भने।
प्रधानमन्त्री निस्केपछि पनि नेपाल–भारत सीमाकै विषयमा छलफल भएको छ ती नेताले जानकारी दिए।
शुक्रबारको दोस्रो बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–भारत सीमा समस्या र त्यसको समधानका लागि सरकारको प्रयासका बारेमा जानकारी गराएका थिए। शुक्रबार उक्त विषयमा १८ जना नेताले बोलेका थिए भने बाँकीले आज बोल्ने कार्यक्रम रहेको छ।
Shares

प्रतिक्रिया