हालैका दिनमा भारत र चीनबीचको सीमा विवादले गम्भीर रुप लिँदै गएको छ। गतहप्ताको सोमबार लद्दाख नजिकको विवादित क्षेत्र गलवान उपत्यकामा दुवै देशका सेनाबीच झडप भएको थियो।
उक्त झडपका क्रममा २० भारतीय सेनाको मृत्यु भएको थियो। हालसम्म चिनियाँ सेनाको अवस्थाका बारेका केही खुलेको छैन। भारतले चीनका ४० सेना मारिएको बताएपनि चीनले यस विषय अस्वीकार गरेको छ।
यसबीचमा चीनका लागि भारतीय राजदूत मिस्रीले चिनियाँ सेना वास्तविक नियन्त्रण रेखा एलएसीस्थित आफ्नो नियन्त्रित क्षेत्रमा जानुपर्ने बताएका हुन्। उनले चिनियाँ सेना भारतीय भूमिमा प्रवेश गरेको आरोप लगाएका छन्।

विक्रम मिस्री
चिनियाँ सेना भारतीय भूमिबाट आफ्नो क्षेत्रमा गए झडप नै नहुने उनको भनाइ रहेको पीटीआइलाई उदृतगर्दै बीबीसीहिन्दीले जनाएको छ।
मिस्री भन्छन्,‘चीनले आफ्नो जिम्मेवारीलाई बुझ्नुपर्छ र एलएसीको आफ्नो क्षेत्रमा जानुपर्छ।’
‘भारतीय सेनाले सँधै एलएसीमा आफ्नो क्षेत्रमा बसेर काम गर्छ। चीनकै कारण दुई देशबीचको सम्बन्ध बिग्रिएको हो।’ उनी भन्छन्,‘दुईपक्षीय सम्बन्धलाई कायम राख्न चीन जिम्मेवार र गम्भीर हुुनुपर्छ।’
चिनियाँ सेनाले भारतीय भूमिमा सैन्य संरचनाहरु खडा गरिरहेको मिस्रीले बताएका छन्। भूउपग्रहबाट खिचिएको तस्बिरहरुमा चिनियाँ सेनाले एलएसीको भारतीय क्षेत्रमा संरचनाहरु बनाएको देखिएको छ।
यी कार्यहरु तत्काल बन्द गर्न पनि मिस्रीले बताएका छन्। उनले भनेका छन्,‘एलएसी पार गरेर भारतीय क्षेत्रमा आउन र त्यहाँ निर्माण कार्य गर्न चीनले बन्द गर्नुपर्छ।’
यसअघि गतहप्ता भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ सेना भारतीय भूमिमा प्रवेश नै नगरेको बताएका थिए। यतिबेला चिनियाँ संरचनाहरु भारतीय भूमिमा देखिएका समाचारहरु सार्वजनिक भएका छन्। एजेन्सी

प्रतिक्रिया