दिल्लीस्थित उच्च आयोगका पाकिस्तानी कुटनीतिज्ञहरुले भारतको जासूसी गरेको भारतको आरोप छ।
जासूसी गरेको भन्दै भारतले पाकिस्तानको सरकारलाई तत्काल ५० प्रतिशत कुटनीतिज्ञ कटौती गर्न पत्रचार गरेको छ।
भारतले ५० प्रतिशत कुटनीतिज्ञ कटौती गर्न भनेपछि पाकिस्तानले पनि इस्लामाबादस्थित भारतीय उच्च आयोगबाट आधा कर्मचारी कटौती गर्न भनेको पाकिस्तानी पत्रिका डनले जनाएको छ।
दिल्लीस्थित पाकिस्तानी उच्चायोगमा ८३ कर्मचारी छन्। इस्लामावादमा भारतका एक सय कर्मचारी छन्।
यसअघि जम्मु कस्मिरलाई प्रदान गरिएको विशेष अधिकार भारतले हटाएपछि पाकिस्तानले भारतीय कुटनीतिज्ञको संख्या कटौती गरेका थिए। त्यसबेला भारतले पनि पाकिस्तानका कर्मचारी कटौती गरेको थियो।
भारतस्थित पाकिस्तानका राजदूत अब्दुल बासितले चीनसँगको जारी तनावबाट आफ्ना जनताको ध्यान हटाउन भारतले पाकिस्तानी कर्मचारीमाथि जासूसीको आरोप लगाएको साथै कुटनीतिज्ञ कटौती गरेको आरोप लगाएका छन्।
हालै पाकिस्तानले भारतीय उच्च आयोगका दुई कर्मचारी पक्राउ गरेको थियो। सकड दुर्घटना गराएकाले उनीहरु पक्राउ गरेको पाकिस्तानको भनाइ छ।
यद्यपी भारतले पाकिस्तानले भारतीय कुटनीतिज्ञलाई पक्राउ गरेर यातना दिएको आरोप लगाएको थियो। यसै घटनाको प्रतिक्रिया स्वरुप भारतले पाकिस्तानी कुटनीतिज्ञ हटाउन लागेको अनुमान गरिएको छ।
हालको घटनामा भारतले मे ३१ का दिन पाकिस्तानी कुटनीतिज्ञहरु जासूसी गर्दागर्दै रंगेहात पक्राउ परेको आरोप लगाएको छ। उनीहरुलाई भारत छाड्न आदेश समेत दिइएको जनाइएको छ। एजेन्सी

प्रतिक्रिया