भारतीय सञ्चारमाध्यमले नेपालपछि अर्का छिमेकी मुलुक बंलादेशविरुद्ध चर्को आलोचना सुरु गरेका छन्। बंलादेशको आग्रहमा चीनले विभिन्न वस्तुमा भन्सार छुटको सुविधा दिएपछि उनीहरू बंगलादेशविरुद्ध खनिएका हुन।
केही भारतीय सञ्चारमाध्यमले भारत–चीनबीच तनाव बढिरहेका बेला बंलादेशलाई आफ्ना पक्षमा पार्न त्यस्तो सुविधा दिएको भन्दै आलोचना सुरु गरेका हुन्। उनीहरूले अल्पविकसित देशलाई परोपकार भनेका छन्। उनीहरूले ढाका बेइजिङतर्फ ढल्किन लागेको आरोप लगाएका छन्।
बंलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले भारतीय सञ्चारमाध्यमको टिप्पणी अस्वीकार्य भएको बताएका छन्। उनले भारतीय सञ्चारमाध्यमले आफ्नो संकुचित मानसिकता प्रदर्शन गरेको बताए।
‘जुन प्रकारका भाषा प्रयोग गरिएको छ, त्यो पत्रकारितका इथिक्सभित्र पर्दैन’ विदेशमन्त्री मोमेनले भनेका छन्। बंगलादेशमा ११ वर्षदेखि शासन गरिरहेका शेख हसिना वाजेदको सरकार भारतपरस्त भएको आरोप लाग्ने गरेको छ।
यसअघि नेपालले भारतले अतिक्रमण गरेको भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेत समेटेर नक्सा अध्यावधिक गर्दा पनि भारतीय सञ्चारमाध्यमले यसैगरी चर्को आलोचना गरेका थिए।
बंलादेशका विदेश मन्त्रालयले थप ८ हजार २ सय ५६ वस्तुमा चीनले भन्सार छुट दिएको जनाएको छ। यसअघि नै बंलादेशले ३ हजार ९५ वस्तुमा छुट पाइरहेको थियो। यस्तो सुविधा बंगलादेशले असार १७ गतेबाट पाउँदै छ। भारत–चीनका सैनिकबीच पूर्वी लद्दाख सीमा क्षेत्रमा भिडन्त भएको १ दिनपछि बेइजिङले ढाकालाई यस्तो सुविधा प्रदान गर्ने घोषणा गरेको हो।

प्रतिक्रिया