राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले शुक्रबार शुक्रबार हुन गइरहेको नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीको छलफल नव औपनिवेशिक अभ्यास भएको बताएका छन्।
शुक्रबार चिनियाँ कम्युनिस्ट पार्टी ९९ वर्ष पुगेको अवसरमा सत्तारुढ नेकपा र चीनका सय बढी नेता भिडियो छलफलमा जुट्दै छन्। यसै छलफललाई लिएर अध्यक्ष थापाले यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन्।
उनले यसैगरि अन्य राजनीतिक दलहरुले पनि आफू अनुकूलका विदेशी दलहरुबाट प्रशिक्षण तथा राजनीतक र आर्थिक सहयोग लिने क्रम शुरु गर्ने हो भने नेपालको हालत के होला भनि प्रश्न समेत गरेका छन्।
उनले राजनीतिक दलहरुकै कारण नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बन्ने खतरा रहेको बताएका छन्।
‘अब यसैगरि अन्य राजनीतिक दलहरुले पनि आफू अनुकूलका विदेशी दलहरुबाट प्रशिक्षण तथा राजनीतक र आर्थिक सहयोग लिने क्रम शुरु गर्ने हो भने नेपालको हालत के होला?’, ट्विटरमा थापाले लेखेका छन्, ‘के नेपाललाई अन्तर्राष्ट्रिय शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बनाउन खोजिएको हो?’

चिनियाँ कम्युनिष्ट पार्टीको पहलमा सत्तारुढ नेकपाका नेताहरू यसरी अन्तरक्रियामा जुट्न लागेको यो दोस्रो पटक हो। करिब आठ महिनाअघि चीनका राष्ट्रपति तथा कम्युनिष्ट पार्टीका महासचिव सी चिनफिङको नेपाल भ्रमणअघि पहिलो पटक काठमाडौंमा यस्तो अन्तरक्रिया भएको थियो।
याे पनि : चिनियाँ कम्युनिस्ट पार्टी ९९ वर्ष पुगेको अवसरमा भिडियोमा छलफल गर्दै नेपाल र चीनका सय बढी नेता
त्यस बेला पनि राप्रपा लगायतका दलहरुले पार्टीगत रुपमा हुने छलफलको विरोध गरेका थिए।
नेपाली कम्युनिष्ट नेताहरू चीनबाट बढी प्रभावित बनेको आरोप भारतीय पक्षबाट आइरहेकै बेला नेकपा स्कुल विभागका उपप्रमुख बेदुराम भुसालले चिनियाँ पक्षको चाहनाअनुसार नै यस्तो अन्तरक्रिया राखिएको बताए।
‘चिनियाँ कम्युनिस्ट पार्टी ९९ वर्ष पुगेको अवसरमा चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग र नेकपाको स्कुल विभागले संयुक्त रुपमा यो भर्चुअल मिटिङ रािखएको हो’, भुसालले नेपालखबरसँग भने, ‘चिनियाँ पक्षबाट नै शुभकामना आदानप्रदान गरौं भनेपछि यो अन्तरक्रिया राखेका हौं, सुरुमा अध्यक्ष प्रचण्डले जुमबाट चिनियाँ कम्युनिष्ट पार्टीलाई ९९ वर्ष पूरा गरेकोमा शुभकामना दिनुहुनेछ।’

प्रतिक्रिया