बैंकहरुले जोरविजोर रहेसम्म बैंकको सबै सेवा सुरु गर्न नसकिने बताएका छन्।
नेपाल राष्ट्र बैंकले सबै शाखा सञ्चालन गरेर सबै सेवा समेत सुरु गर्न बैंकहरुलाई निर्देशन दिएपछि बैंकहरुले अर्ध लकडाउन रहेको भन्दै सबै सेवा सुचारु गर्न नसकिएको बताएका हुन्।
बैंकका कर्मचारीहरु जोरविजोर हुँदा आधा मात्रै उपस्थित हुनसकेकोले आधा कर्मचारी आएर कसरी सबै सुचारु गर्ने भन्दै राष्ट्र बैंकसमक्ष प्रश्न गरेका छन्।
नेपाल राष्ट्र बैंकले यही असार १ गतेदेखि सबै सेवा सुचारु गर्न भनेको थियो। तर बैंकहरुले भने सबै सेवा प्रदान गर्न नसकिने बताउँदै आएका छन्। एक बैंकरले गाडी चल्न नपाएपछि सार्वजनिक बसलाई भाडामा लिएर सुचारु गर्न र त्यसको लागि पास उपलब्ध गराउन राष्ट्र बैंकसँग माग गरिएको बताए।
त्यस्तै बैंकर्स संघका अध्यक्ष भुवन दाहालले अहिले केही बैंकहरुमा ५० प्रतिशतदेखि केही बैंकमा ८० प्रतिशतसम्म कर्मचारी आएर काम गरिरहेको जानकारी दिए। जसमा अत्यधिक कर्मचारी आएका छन्। उनीहरुलाई जोरविजोर प्रणालीले दुःख दिएको उनले बताए।
‘कर्मचारीहरु आएका हुन्छन्। जोरविजोर प्रणालीले गर्दा केहीलाई बाटैमा रोकिएको हुन्छ’, उनले भने, ‘त्यसकारण बैंकमा आउने सेवाग्राहीलाई सेवा दिन नसकिएको समस्या केही बैंकमा देखिएको छ।’
तर पनि यो परिस्थितिको कारण नै हो भनेर सबै बैंकले बुझ्नुपर्ने उनी बताउँछन्। कोरोना कहरले गर्दा सबैको जनजीवनमा तथा सेवा लिँदा वा दिँदा अप्ठ्यारो परेको उनले बताए। त्यो बैंकको हकमा मात्रै नभई सबैमा लागू भएको छ।
लकडाउनको कारण बैंकको हकमा भने ऋण प्रवाह र निक्षेप संकलनमा ठूलो असर गरेको नेपाल राष्ट्र बैंककै तथ्याङ्कले देखाएको छ।
राष्ट्र बैंकले भर्खरै मात्र वैशाखसम्मको तथ्याङ्क सार्वजनिक गरेको छ। जसअनुसार गत आर्थिक वर्ष २०७५/०७६ बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर कर्जा १७.१ प्रतिशत रहेको थियो। चालू आर्थिक वर्षको वैशाखसम्म भने ११.१ प्रतिशत मात्रै वृद्धिदर देखिएको हो।
वार्षिक विन्दुगत आधारमा २०७७ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १३.२ प्रतिशतले बढेको छ। बैंक तथा वित्तीय संस्थाको २०७७ वैशाख मसान्तमा लगानीमा रहेको कर्जामध्ये ६५.४ प्रतिशत घरजग्गाको धितोमा र १३.२ प्रतिशत चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु)को धितोमा प्रवाह भएको छ।
२०७६ वैशाख मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४.२ प्रतिशत र १३.८ प्रतिशत रहेको थियो। जेठसम्मको तथ्यांकमा सबै किसिमको कर्जा घटेको अनुमान राष्ट्र बैंकको छ।
त्यस्तै वैशाख मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ११ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ११.७ प्रतिशतले बढेको थियो।
वार्षिक विन्दुगत आधारमा २०७७ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १७.३ प्रतिशतले बढेको छ। २०७७ वैशाख मसान्तमा चल्ती, बचत र मुद्दती निक्षेपको कुल निक्षेपमा क्रमशः .६ प्रतिशत, ३२.६ प्रतिशत र ४८.६ प्रतिशत अंश रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.७ प्रतिशत, ३२. प्रतिशत र ४७.८ प्रतिशत रहेको थियो।
२०७७ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.३ प्रतिशत रहेको छ। २०७६ वैशाख मसान्तमा यस्तो निक्षेपको अंश ४५.७ प्रतिशत रहेको थियो।
Shares

प्रतिक्रिया