प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी परियोजना एममिसीबारे नेताहरूले लहैलहैमा बोलेको सुनेर आफुलाई अचम्म लागेको बताएका छन्।
‘एमसीसी पढेका मान्छे मैले त्यत्ति भेटिनँ, एमसीसी सम्झौता खोजेर ल्याएर पढे हुन्छ’, प्रधानमन्त्री ओलीले भने, ‘पढ्ने भन्दा हल्लाको भरमा कुद्ने र जसरी भएपनि विरोध गर्न पाए भयो भन्ने कस्तो चिन्तन।’
बिहीबार राष्ट्रिय सभामा बोल्ने क्रममा आक्रोशित देखिएका ओलीले प्रश्न गरे, ‘खुट्टाले टेकेर हिंड्न छोडेर, टाउकाले टेकेर, हातले टेकेर खुट्टा ठाडा पारेर हिंड्ने अभ्यास गर्न किन जरुरी छ? खुट्टाले नै टेकेर हिंड्नु पर्छ, त्यो भनेको सम्झौतामा जे प्रबन्ध छ, त्यो पढेर ठिक बेठिक यहाँ यहाँ छ भनेर भन्नु एउटा कुरा हो।’
ओलीले आफ्नो पार्टी नेकपाका नेताहरूतर्फ संकेत गर्दै उनीहरू लहैलहैमा हिंडेको आरोप लगाए। झलनाथ खनाल संयोजक रहेको कार्यदलले अहिलेकै अवस्थामा एमसीसी सम्झौता संसदबाट अनुमोदन नगर्न सुझाव दिएपछि प्रधानमन्त्री ओली अप्ठेरोमा परेका छन्।
‘लहैलहैमा लौ अमेरिकी सेना आउने भो, कहाँ पढ्छन्, के पढ्छन् अचम्म लाग्छ। कागले कान लाँदा त अलिकति दुख्छ होला नि, दुख्या छैन भने हैन होला भन्ने त थाहा पाउनु पर्यो नि फेरि’, ओलीले कान छामेर देखाउँदै थपे, ‘दुख्या छैन तैपनि सुटुक्क लग्यो भन्ने हो भने पनि छाम्नु पर्यो नि, दुखे नदुखेको वास्ता नगर्ने, छ कि छैन पनि नछाम्ने अनि लहैलहैमा कुद्ने।’
ओलीले एमसीसी अहिले सडक र अन्यतिरको विषय बनेको भन्दै राष्ट्रिय सभामा यो त्यत्ति सान्दर्भिक नभएकाले आफु विस्तारमा जान नचाहेको बताए।
‘तर पढे हुन्थ्यो नि, सम्झौतामा के लेख्या छ, के यस देशमा विकास हुन आँट्यो भन्ने चिन्ता हो?’, ओलीले फेरि प्रश्न गरे, ‘के यस देशमा विकासका लागि अनुदान आयो भन्ने चिन्ता हो?’
उनले फेरि राष्ट्रिय सभाका सांसदहरूलाई एमसीसी सम्बन्धमा आफ्ना विचार अर्को कुनै समयमा राख्ने बताए र, भने, ‘यो छलफलमा आउने नै छ।’
‘म माननीयजीहरूलाई आग्रह गर्न चाहन्छु, हामी देशको सर्वोच्च जनप्रतिनिधि संस्थाका सदस्यहरू हौं’, ओलीले फेरि भने, ‘हामीले इतिहासमा दर्ज हुनेगरि बोल्नु पर्दछ।’
त्यसपछि ओलीले महाकाली सन्धि हुँदा आफुले आँधी हुरीको सामना गरेको सम्झिए। र, त्यस्तै सामना गरेर भएपनि एमसीसी सम्झौता अनुमोदन गराउने संकेत दिए।
ओलीले भने, ‘एक जमानामा महाकाली सन्धिको सम्बन्धमा यति ठूलो बबण्डर आँधी हुरी मच्चियो, म आश्चर्य चकित भएँ।’
Shares

प्रतिक्रिया