समाज


सेनाले भन्यो: खरिपाटीमा औषधिका लागि ७४ लाख होइन, १३ हजार मात्रै खर्च भएको छ

सेनाले भन्यो: खरिपाटीमा औषधिका लागि ७४ लाख होइन, १३ हजार मात्रै खर्च भएको छ

नेपालखबर
असार ४, २०७७ बिहिबार १३:२६,

नेपाली सेनाले खरिपाटीको क्वारेन्टिनमा राखिएकाहरुमा औषधिका लागि १३ हजार रुपैयाँ मात्रै खर्च भएको दाबी गरेको छ।

चीनको वुहानबाट ल्याइएका व्यक्तिका लागि औषधि तथा औषधिजन्य सामग्रीहरुतर्फ ७३ लाख ९८ हजार रुपैयाँ विनियोजन भएपनि सबै रकम खर्च नभएको स्पष्टीकरण दिएको हो।

क्वारेन्टिनमा राखिएका कसैले औषधि नखाएपनि सेनाले औषधि शीर्षकमा करिब ७४ लाख खर्च गरेको समाचार प्रकाशित भएका थिए।

बिहीबार सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले विज्ञप्ति जारी गर्दै त्यस्ता समाचार सेनालाई बदनाम गराउने उद्देश्यले आएको बताए।

चीनबाट ल्याइएका १७५ जना नेपाली विद्यार्थीहरुलाई गत फागुन ४ गतेदेखि २० गतेसम्म १७ दिन भक्तपुरको खरिपाटी क्वारेन्टिनमा राखिएको थियो।

उनीहरुको व्यवस्थापनमा कुनै अनियमितता नभएको सेनाको दाबी छ। क्वारेन्टिन व्यवस्थापनको लागि एक करोड २९ लाख रुपैयाँ विनियोजन भएको थियो।

यसमध्ये खानातर्फ ५५ लाख १ हजार ४ सय ३३ रुपैयाँ र औषधिजन्य सामग्रीमा ७३ लाख ९८ हजार रुपैयाँ विनियोजन भएको थियो।

जसमध्ये औषधि खरीदमा ३ लाख ३३ हजार १० रुपैयाँ र औषधिजन्य सामग्री खरिदमा ६३ लाख ३७ हजार ४८१ रुपैयाँ खर्च भएको सेनाले जनाएको छ। बाँकी रहेको ७ लाख २८ हजार ४८ रुपैयाँ ९६ पैसा कोष तथा लेखा नियन्त्रण कार्यालय, सुन्धारा काठमाडौंमा मौज्दात रहेको सेनाले जनाएको छ।

औषधि खरिदतर्फ ३ लाख ३३ हजार १० रुपैयाँ खर्च भए पनि खरिद गरिएका सबै औषधि प्रयोग नभएको सेनाको विज्ञप्तिमा उल्लेख छ।

सो औषधिमध्ये १३ हजार १७९ रुपैयाँ ८९ पैसा बराबरको औषधि खर्च भएको र बाँकी ३ लाख १९ हजार ८३० रुपैयाँ बराबरको औषधि पुनः प्रयोगमा ल्याउने गरी स्टोरमा मौज्दात भएको जानकारी सेनाले दिएको छ।

प्रयोग भइसकेको केही औषधि क्वारेन्टिन स्थलमै प्रयोग गर्नेगरी छोडिएको र केही पुनः प्रयोगमा ल्याउने गरी स्टोरमा दाखिला भएको सेनाले जनाएको छ।

६३ लाख ३७ हजार ४८१ रुपैयाँमा खरिद गरिएको औषधीजन्य सामग्रीहरु मुख्यतया स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, फोहोर व्यवस्थापन तथा अन्य हवाई यात्रामा आतेजाते कार्यमा खटिएका व्यक्तिहरु, क्वारेन्टिनमा नियमित कार्यमा प्रयोग गरिने पीपीई, डिजिटल थर्मोमिटर, मास्क, पन्जा, स्यानिटाइजर, डिसइन्फेक्सन, फोहोर ओसार्ने ट्रलीसहित सफाइ सामग्री र उपकरण खरीदमा खर्च भएको सेनाको भनाइ छ।

स्वास्थ्य सामग्रीहरु मध्ये प्रयोग पछाडि डिस्पोज गरिने र कन्जुमेबलहरु बाहेक २३ लाख ३० हजार ५ सय ६२ रुपैयाँ बराबरको औषधिजन्य सामग्रीहरु सामग्रीहरु पुनः प्रयोगमा ल्याउने गरी स्टोर दाखिला भएको पनि विज्ञप्तिमा उल्लेख छ।

क्वारेन्टिनमा बसेका १ सय ७५ जना विद्यार्थी, नेपाल वायुसेवा निगमका १८ जना, चिकित्सक समूह, सफाइकर्मी तथा एम्बुलेन्स टोलीका ९ जना गरी जम्मा २ सय २ जनालाई स्तरीय प्याकिङ्ग सहितको स्वस्थकर खाना खुवाइएको थियो।

तीन प्रकारका मांसाहारी र १ प्रकारको शाकाहारी मेनु अनुसार दिनको चारछाक खानाको व्यवस्था गरिएको थियो।

दैनिक खानाको लागि कार्की क्याटरिङसँग भ्याटबाहेक प्रतिव्यक्ति दैनिक एक हजार ३ सय ५० रुपैयाँमा सम्झौता गरेको सेनाले जनाएको छ।

त्यस्तै, क्वारेन्टिनमा सुरक्षार्थ खटिएका ३० जना सुरक्षाकर्मीहरुलाई सोही खर्चबाट खाजा, पानी, कफी तथा चियाको प्रबन्ध गरिएको थियो।

सार्वजनिक खरिद ऐन २०६३ को दफा ६६ र नियमावली २०६४ को नियम १४५ को उपनियम ३ मा व्यवस्था भएबमोजिम खरिद सम्बन्धी जानकारी प्रकाशित गरेको सेनाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad