ad ad

राजनीति


भारत र चीनबीच भीषण भिडन्तमा २० भारतीय सैनिकको मृत्यु

भारत र चीनबीच भीषण भिडन्तमा २० भारतीय सैनिकको मृत्यु

नेपालखबर
असार २, २०७७ मंगलबार १७:१७,

भारतीय सेनाले पूर्वी लद्दाखको गलवान उपत्यकामा सोमबार राती चिनियाँ सेनासँग भएको झडपमा आफ्ना २० सैनिकको मृत्यु भएको स्वीकार गरेको छ।

भारतीय सेनाले चीनसँगको भीषण झडपमा आफ्ना १७ सैनिका घाइते भएको र शून्य डिग्रीभन्दा कम तापक्रम रहेको गलवान उपत्यकामा उनीहरूको मृत्यु भएको बताएको छ। यसअघि भारतीय सेनाले चीनसँगको झडपमा एक जना कर्नेल र दुई सैन्य जवानको मात्र मृत्यु भएको बताएको थियो।

भारतीय सेनाले मंगलबार राती मात्र २० जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको हो। साथै उसले भारत र चीनका सेनाबीच झड बन्द भएको जनाउ पनि दिएको छ।

भारतको सरकारी समाचार संस्था पीटीआईले भारत र चीनका सेनाबीच केही घण्टासम्म भीषण झडप भएको जनाएको छ। झडपमा कयौँ भारतीय सेना घाइते र बेपत्ता छन्। एएनआईले सरकारी स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार यो संख्या अझै बढ्न सक्नेछ।

पूर्वी लद्दाखको गलवान क्षेत्रमा सोमबार राती दुवै पक्षका सैनिकबीच हिंसात्मक झडप भएको भारतीय र चिनियाँ सेनाले छुट्टाछुट्टै रुपमा पुष्टि गरेका थिए। छन्। झडपमा चिनियाँ सेनातर्फ पनि हताहती भएको भारतीय सेनाले दाबी गरेपनि चिनियाँ पक्षले यसको पुष्टि गरेको छैन।

लद्दाखको सीमा क्षेत्रमा एक महिनादेखि भारत र चीनका सैनिक आमनेसामने भएपछि तनाव बढेको थियो। जसको निकास खोज्न जुन ६ का दिन दुई देशका सैन्य अधिकारीबीच वार्ता भएको थियो। त्यसयता लगातार थुप्रै चरणका वार्ता भए पनि तनाव भने कम भएको थिएन।

पछिल्लो समय लद्दाखमा दुवै पक्षले भौतिक संरचना निर्माणको गति र सेना तथा हतियारको संख्या वृद्धि गरिरहेका थिए।

भारतीय विदेश मन्त्रालयले जुन ६ मा भएको सहमति चीनले तोडेको आरोप लगाएको छ भने चिनियाँ विदेश मन्त्रालयले आफ्नो सीमामा भारतीय सेना आउँदा झडप भएको प्रतिक्रिया दिएको छ।

विवाद समाधानका लागि हाल दुवै देशका सैन्य तथा सरकारी वरिष्ठ अधिकारीबीच वार्ता भइरहेको पनि जनाइएको छ।

सन् १९७५ पछि पहिलो पटक चीन सँगको सीमा नियन्त्रण रेखामा भएको झडपमा भारतीय सेनाको ज्यान गएको हो। यसअघि सन् १९७५ मा दुई देशका सेनाबीच अरुणाञ्चलको तुलुङलामा गोली चल्दा असम राइफल्सका चार जवानको ज्यान गएको थियो। त्यसअघि सन् १९६२ मा भारत र चीनबीच एक महिने युद्ध भएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .